दसैँ मनाउन मुलुकको संघीय राजधानी काठमाडौंबाट घर फर्किन थालेका छन् । पछिल्ला पाँच दिनमा मात्रै एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीसाधनमार्फत यात्रुहरू विभिन्न गन्तव्यतर्फ गएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले अध्ययन, व्यवसाय र रोजगारीको सिलसिलामा राजधानी आएका नागरिक दसैँ मनाउन घर फर्कन थालेको जानकारी दिएका हुन् । उनका अनुसार यात्रुहरू थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट बाहिरिएका छन् ।
पाँच दिनको तथ्यांक अनुसार असोज १ गते ३४,५५६, असोज २ गते ३६,१००, असोज ३ गते ४०,५५५, असोज ४ गते ३४,८७९, असोज ५ गते ४३,१२४ जनाले काठमाडौं छाडेका हुन् ।
यस वर्ष भने सडकको खराब अवस्था र बर्खाको कारण पहिरो लाग्दा यात्रुहरूलाई गन्तव्य पुग्न कठिनाइ भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार राजमार्गमा विशेषगरी मुग्लिङ–नारायणघाट खण्डमा पहिरो जाँदा सवारी साधन घण्टौँसम्म रोकिनु परेको छ ।
त्यस्तै, गोङ्गबुस्थित नयाँबसपार्कमा यात्रुको चाप ह्वात्तै बढेको छ । सञ्चालन संस्था लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार अन्य समयमा दैनिक चार–पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले यो संख्या १५ हजारभन्दा बढी पुगेको छ ।
यसरी दसैँ नजिकिएसँगै राजधानी छाडेर घर फर्किने यात्रुको चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ ।








