१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

शिक्षामन्त्री पुनको तीन निर्देशन : कम्प्युटर शिक्षा, तीन महिनामा परीक्षाफल र त्रिवि परिसर सफाइ



शिक्षामन्त्री नियुक्त भएका महावीर पुनले पदभार ग्रहण गरेसँगै मंगलबार तीनवटा निर्देशन सार्वजनिक गरेका छन् । पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै देशभरका सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक व्यवस्था गर्ने, विश्वविद्यालयहरूले बढीमा तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर सफा गरी आकर्षक बनाउनुपर्ने निर्देशन दिएका हुन् ।

उनका अनुसार, पहिलो चरणमा सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भनेर हरेक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्नेछ ।

दोस्रो निर्देशनमा उनले विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म ढिलाइ गर्ने परम्परा विद्यार्थीका लागि अपूरणीय क्षति भएको भन्दै बढीमा तीन महिनाभित्र नतिजा निकाल्न अनिवार्य गरिने बताए । समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनीसमेत उनले दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको पाँच लाख विद्यार्थीको नतिजा तीन महिनाभित्रै निकाल्ने गरेको उदाहरणसमेत उनले प्रस्तुत गरेका छन् ।

तेस्रो निर्देशनका क्रममा पुनले त्रिवि, कीर्तिपुर परिसरभित्र रहेको ठूलो क्षेत्रफलकै झाडी फाँडेर (ठूला रुख नकाटी) बगैँचा र फुटपाथ बनाउनुपर्ने उल्लेख गरेका छन् । यसले विश्वविद्यालयलाई व्यवस्थित र आकर्षक बनाउन मद्दत गर्ने उनको भनाइ छ ।

मन्त्री पुनले यी निर्देशनलाई “काम तुरुन्त अगाडि बढाउनका लागि सानासाना तर महत्वपूर्ण कदम” भनेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १० : ०० बजे