सरकारले भदौ २३ र २४ को आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक स्रोतको व्यवस्था गरी पुनर्निर्माण, मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनस्थापनासम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्ने निर्णय गरेको हो।
सो आदेशअनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भएका संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ।
सरकारले नेपाल सरकारका विभिन्न निकाय, प्रदेश तथा स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई राष्ट्र पुनर्निर्माण अभियानमा सहभागी हुन आग्रह गरेको छ।
आर्थिक सहयोग रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाइने व्यवस्था सरकारले गरेको छ।
यस उद्देश्यका लागि राष्ट्रिय वाणिज्य बैंकमा कोषको नाममा खाता सञ्चालन गरिएको छ। खाता नम्बर १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सरकारले सबैलाई अनुरोध गरेको छ।








