सोलुखुम्बुमा अवतरणका क्रममा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरूलाई लक्षित गरी चार बुँदे सर्कुलर जारी गरेको छ।
बुधबार लोबुचेमा उद्धार उडानको क्रममा ९एन–एएमएस कलसाइनको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले पर्वतीय तथा उच्च भूभागका उडानहरूलाई सुरक्षित बनाउन नयाँ सर्तहरू लागू गरेको हो।
प्राधिकरणले अपरेसन विभागसहित नेपालका प्रमुख हेलिकप्टर कम्पनीहरूलाई पत्राचार गर्दै अबदेखि अनिवार्य रूपमा पालना गर्नुपर्ने निम्न निर्देशनहरू दिएको छ । जस अन्तर्गत ह्वाइटआउट (अत्यधिक हिउँ वा बादलले जमिन र आकाशको भेद नखुल्ने अवस्था) वा कुहिरोको अवस्थामा अबदेखि व्यावसायिक उडान गर्न नपाइने, हिमपात हुने क्षेत्रमा उडान भर्नैपरेमा हेलिकप्टरको स्किडमा ‘बियर पज’ राख्नैपर्ने व्यवस्था गरिएको छ भने सम्भव भएसम्म सबैखाले उडानहरूमा मार्शलर (अवतरणका बेला ग्राउन्डमा संकेत गर्ने व्यक्ति) को व्यवस्था गर्नुपर्ने र उच्च उचाइका क्षेत्रहरूमा अवतरणका लागि सुरक्षा सुनिश्चितता गर्न राम्ररी ग्राउन्ड कोअर्डिनेसन हुनुपर्ने बुँदाहरु रहेका छन् ।
त्यस्तै हिउँले भरिएका हेलिप्याडहरूबाट हिउँ (र अन्य अवरोधक वस्तुहरू पनि) पूर्ण रूपमा हटाइएको हुनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।
प्राधिकरणले यो सर्कुलर एयर डाइनेस्टी, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर्स, फिस्टेल एयर, हेलि एभरेस्ट, कैलाश हेलिकप्टर, मनाङ एयर, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, श्री एयरलाइन्स र सिम्रिक एयरलाई पठाएको छ ।









