आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले इटालीसँग १० विकेटको अप्रत्याशित र लज्जास्पद हार व्यहोरेको छ ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार भएको खेलमा इटालीले नेपालमाथि ऐतिहासिक जित निकाल्दा नेपाल भने विश्वकपको इतिहासमै पहिलो पटक १० विकेटले पराजित भएको हो। पहिलो पटक विश्वकप खेलिरहेको इटालीको यो पहिलो ऐतिहासिक जित हो।
नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाई सहजै पूरा गर्यो। इटालीको जितमा मोस्का दाजुभाइ नायक बने। एन्थोनी मोस्काले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ६२ रन बनाए भने जस्टिन मोस्काले ४४ बलमा ५ चौका र ३ छक्काको मद्दतले नटआउट ६० रन जोडे। नेपाली बलरहरूले संघर्ष गरेको पिचमा इटालीका ब्याटरहरूले पावरप्लेको ६ ओभरमै ६८ रन जोडेपछि खेल नेपालको हातबाट फुत्किसकेको थियो। करण केसी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र सन्दीप लामिछाने सबै इटालीको आक्रामक ब्याटिङसामु निरिह देखिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भएको थियो। इटालीका स्पिनरहरू सामु नेपाली ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने कप्तान रोहित पौडेलले २३ र आसिफ शेखले २० रनको योगदान दिए। ओपनर कुशल भुर्तेल ४ रनमै आउट भएपछि दबाबमा परेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। इटालीका स्पिनर बेन मानेन्टीले ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट लिँदै नेपाली इनिङलाई धराशायी बनाए। यस्तै क्रिशन कलुगामागेले पनि ३ विकेट हात पारे।
यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ। १२ वर्षपछि विश्वकपमा जित निकाल्ने लक्ष्य राखेको नेपालले लगातार दोस्रो पराजय भोगेपछि अबको यात्रा कठिन बनेको छ। पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको नेपालले अब आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ। यी दुवै खेल जिते पनि नेपालको सुपर-८ मा पुग्ने सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहनेछ। सन् २०१४ मा अफगानिस्तानलाई हराएयता नेपालले विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन।









