६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पहिलो ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सम्पन्न



काठमाडौंमा पहिलो पटक आयोजित ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सम्पन्न भएको छ ।

बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा उक्त प्रतियोगितामा पुरुषतर्फ तेन्जिङ राई र महिलातर्फ श्रृजना तामाङले उपाधि जितेका छन् । उपाधि विजेताले नगद ५०/५० हजार नगद प्राप्त गरेका छन् ।

त्यस्तै, द्वितीया र तृतीय हुने पुरुषतर्फ रोनक उप्रेती र सजन लामा छन् भने महिलातर्फ द्वितीया र तृतीय क्रमशः स्वस्तीका चौधरी र प्रेरणा राई भएका छन् । उनीहरुले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

उक्त प्रतियोगिता पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गरेको थियो । यस किसिमको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले बताए । साथै प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने समेत जानकारी दिए ।

यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको थियो । प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहेका थिए । स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान पर्वतारोही मानिन्छ ।

१०औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन् । वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए (अझै पनि रेकर्ड कार्यम नै रहेको) र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए । सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा दुर्भाग्यवस उनको निधन भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : १० बजे