नेपालीहरूको महान पर्व ल्होसारको अवसर पारेर अमेरिकाको नर्थ क्यारोलिन राज्यस्थित रालेमा पहिलो पटक ल्होसार कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
केही समयअघि सम्पन्न तोला ल्होसार र सोनाम ल्होसारपछि फेब्रुअरी १८ बुधबारदेखि सुरु हुने ग्याल्पो ल्होसारको अवसरमा फुके नेपाली एफसीले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको सहआयोजकका रूपमा होफेक्स, हिमालयन क्लब र योलो फुटबल समूह रहेका छन् । ३० वर्षभन्दा माथिका १२० खेलाडी सहभागी आठ टोलीबीच प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ ।
पहिलो दिनको खेलमा बौद्धनाथ र पशुपतिनाथबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा बौद्धनाथले ३ अंक हासिल गर्दा पशुपतिनाथले अंक जोड्न सकेन । त्यसैगरी लुम्बिनी र मञ्जुश्रीबीच भएको खेलमा लुम्बिनीले ४ अंक प्राप्त गर्दा मञ्जुश्री शून्य अंकमा सीमित रह्यो ।
प्रतियोगितामा संयम लामिछानेले रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने केभिन घले र असिम पन्तले लाइन्सम्यानको जिम्मेवारी सम्हालेका थिए ।
नर्थ क्यारोलिनाको रालेमा लामो समयदेखि होफेक्सले नेपालीहरूको महान पर्व दशैंको अवसरमा दशैं कप आयोजना गर्दै आएको छ । यस वर्षदेखि भने फुके नेपाली एफसीले ल्होसार कपको सुरुआत गरेको हो ।
यस पटकको ल्होसार कपमा डिन्डुलामा ह्योल्मो, माउन्ट एभरेष्ट प्रोपर्टी, सन्तोष खतिवडा (एनएभी रियाल्टी), प्रेम प्रधान (सनी रियाल्टी), सुजन न्यौपाने, जीतमान बस्नेत (युनाइटेड रियाल्टी), अनिल शाह (रियाल्टर तथा लोन अफिसर), एभरेष्ट नेपाली किचन, मम हाउस, डिलिजेन्ट ट्राभल, संयम लामिछाने, पुष्पल रेग्मी, नवराज सुवेदी, भरत सुवेदी, डा. युवराज कडेल र विवेक तामाङलगायत व्यवसायी तथा व्यक्तित्वहरूको सहयोग रहेको छ । एनसीएनसी कम्युनिटी पार्टनरको रूपमा सहयोग गरेको छ ।
“प्रवासमा रहँदा पनि हामी नेपालीले आफ्ना मौलिक चाडपर्व मनाउने अवसरमार्फत आपसी आत्मीयता साटासाट गर्दै समुदायलाई थप बलियो बनाउन ल्होसार कप आयोजना गर्न पाउँदा खुसी लागेको छ,” आयोजक समितिका सदस्य आङ छिरिङ शेर्पाले बताए ।
उनका अनुसार प्रतियोगिताको फाइनल खेल आगामी मार्च ७ तारिखमा हुनेछ । सोही साँझ हिमालयन कम्युनिटीले आयोजना गर्ने ल्होसार पार्टीसमेत सम्पन्न हुने कार्यक्रम रहेको छ ।










