१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

नेपालको प्रतिनिधिसभा निर्वाचन: पछिल्लो मत परिणाममा रास्वपा बहुमतबाट दुई तिहाइतिरको यात्रामा



नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक तथा पछिल्लो परिणामहरूले देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन निश्चित भएको छ । नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट बहुमतबाट अघि बढेर दुई तिहाइको संकेत गरेको छ ।

हालसम्म प्राप्त मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ धेरै सिटहरु जितिसकेको छ भने अग्रता पनि अत्याधिक धेरैमा उसैले लिएको छ । समाचार तयार पार्दासम्म उक्त दलले ७४ सिटमा जिति सकेको छ भने ४८ सिटमा अग्रता लिएको छ ।

परम्परागत दलहरू भने अपेक्षाकृत कमजोर अवस्थामा पुगेका छन् । नेपाली कांग्रेसले ११ सिट जितेको र ९ सिटमा अग्रता कायम गरेको छ । नेकपा (एमाले)ले ४ सिट जितेर ९ केही क्षेत्रमा अग्रता लिएको छ । त्यस्तै नेकपाले ३ सिट जितेर ४ सिटमा अग्रता लिएको छ । त्यसैगरी श्रम संस्कृति पार्टीले ३ सिटमा अग्रता लिएको छ भने एक जना स्वतन्त्र उम्मेदवारले जित हात पारेको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) शाहले झापा–५ मा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पछि पार्दै प्रभावशाली अग्रता लिएका छन्। मतगणनाको पछिल्लो विवरणअनुसार शाहले हजारौं मतले अग्रता कायम गरेका छन्।

काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) सबैभन्दा पहिला विजयी भएकी थिइन । उनले १५ हजारभन्दा बढी मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरिन् ।

नेपालको प्रतिनिधिसभामा कुल २७५ सिट छन्, जसमा १६५ सिट प्रत्यक्ष निर्वाचनबाट र ११० सिट समानुपातिक प्रणालीबाट पूर्ति गरिन्छ । समानुपातिक तर्फको मत गणनामा पनि रास्वपाले धेरै मत ल्याउने दखिएको छ । अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस पटकको परिणामले परम्परागत दलप्रति जनताको असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको आकर्षण स्पष्ट रूपमा देखाएको छ। युवापुस्ताको समर्थनका कारण नयाँ राजनीतिक शक्तिको उदय भएको बताइन्छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : ३७ बजे