९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

एमाले नेता मल्लविरुद्धको जबरजस्ती करणीमा १० बर्ष कैद माग



ललितपुर । नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्णबहादुर मल्लविरुद्ध दायर गरिएको जबरजस्ती करणी सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरमा थुनछेक बहस सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि अदालतमा बयान र बहसको प्रक्रिया अगाडि बढेको हो।

मंगलबार बयान र थुनछेक बहस सुरु भए पनि समय अभावका कारण प्रक्रिया नसकिएपछि अदालतले यस मुद्दालाई बुधबारका लागि ‘हेर्दाहेर्दै’ मा राखेको छ। बुधबारको बहसपछि अदालतले मल्ललाई मुद्दाको किनारा नलागुन्जेलसम्म पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाडेर मुद्दा लड्न दिने भन्नेबारे आदेश दिनेछ। यसअघि प्रहरीले मल्ललाई चैत १४ गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सरकारी वकिलको कार्यालयले मल्लविरुद्ध ७ देखि १० वर्षसम्मको कैद सजाय, ३ लाख रुपैयाँ जरिवाना र पीडित महिलालाई उचित क्षतिपूर्ति भराउन माग गर्दै अभियोग पत्र दायर गरेको छ। पीडित भनिएकी ३० वर्षीया महिला पेशाले कलाकार हुन्। उनले २०८० फागुन १२ गते मल्लले फकाइफुलाई ग्वार्कोस्थित एक होटलमा पुर्‍याएर जबरजस्ती करणी गरेको र त्यसपछि दुई वर्षसम्म निरन्तर यौन सम्पर्क राखेको दाबी गरेकी छन्। जाहेरी अनुसार सोही क्रममा रहेको गर्भ मल्लले २०८२ असार २ गते गर्भपतन गराउन लगाएका थिए। पीडितले पछिल्लो समय मल्लले आफूलाई मानसिक यातना दिने र ज्यान मार्ने धम्कीसमेत दिने गरेको आरोप लगाएकी छन्।

यता, प्रतिवादी कर्णबहादुर मल्लले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। अदालतमा दिएको बयानका क्रममा उनले आफू र पीडितबीच सांगीतिक र पार्टीगत कार्यक्रमका सिलसिलामा चिनजान भएको स्वीकार गरे पनि बलात्कारको घटनालाई अस्वीकार गरेका छन्। मल्लले ती महिलाले एउटा देउडा एल्बम निकाल्नका लागि आफूसँग पटक-पटक गरी १ लाख ३५ हजार रुपैयाँ सापटी लिएको र सो रकम फिर्ता माग्दा फसाउने उद्देश्यले झुटो मुद्दा हालेको जिकिर गरेका छन्।

मल्लले बयानमा भनेका छन् कि सापटी रकम फिर्ता माग्दा उल्टै फोटो र भिडियोहरू सामाजिक सञ्जालमा राखेर बेइज्जत गर्ने धम्की दिइएको थियो। प्रहरीले अनुसन्धानका क्रममा मल्ललाई पीडितसँगका फोटो र भिडियोहरू देखाउँदा ती आफ्नै भएको उनले स्वीकार गरे पनि शारीरिक सम्बन्ध र करणीको कुरालाई भने इन्कार गरेका छन्। अदालतको बुधबारको आदेशले मल्लको आगामी कानुनी प्रक्रियाको बाटो तय गर्नेछ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ११ : १६ बजे