१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

युएईविरुद्ध नेपालको सानदार जित: बलिङमा जम्दा लिग-२ मा सुखद् सुरुवात



ब्याटिङमा सङ्घर्ष, दीपेन्द्रको अर्धशतक आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दबाबपूर्ण अवस्थामा रहेको नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा युएईविरुद्ध ३७ रनको महत्वपूर्ण जित निकाल्दै सिरिजमा सुखद् श्रीगणेश गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने निकै निराशाजनक रह्यो। एकदिवसीय फर्म्याटमा कमजोर मानिएको २०० रनको योगफलमा समेटिने क्रममा नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले संकटमोचकको भूमिका निभाउँदै सर्वाधिक ७५ रनको योगदान दिएपछि टोलीले सम्मानजनक स्कोर खडा गर्न सफल भयो। अन्य ब्याटरहरू चल्न नसकेको इनिङ्समा ओपनर कुशल भुर्तेलले २४ र करन केसीले २२ रन जोड्नुबाहेक अन्यको प्रदर्शन बिर्सनलायक रह्यो।

बलरहरूको साहसिक प्रदर्शन र करणको चार विकेट सानो लक्ष्य भए पनि नेपाली बलरहरूले कसिलो बलिङ गर्दै पाहुना टोलीलाई दबाबमा राख्न सफल भए। ब्याटरहरूले गरेको गल्तीलाई सुधार्दै बलरहरूकै साहसिक प्रदर्शनका कारण नेपालले खेल आफ्नो पक्षमा पारेको हो। तीव्र गतिका बलर करण केसीले सुरुवाती ओभरदेखि नै युएईका ब्याटरहरूलाई समस्यामा पार्दै महत्वपूर्ण ४ विकेट चट्काए। उनलाई साथ दिने क्रममा सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट हात पारे। युएईका लागि हर्पित सिंह भाटियाले ३९, कप्तान मोहम्मद वासिमले ३४ र अक्षदीप नाथले ३० रन बनाए पनि नेपाली बलिङ आक्रमणसामु अन्य ब्याटर टिक्न सकेनन्।

हारको शृङ्खला अन्त्य र आगामी चुनौती लिग-२ को अङ्क तालिकामा निकै कमजोर अवस्थामा रहेको नेपालका लागि यो जित अक्सिजन सरह बनेको छ। यसअघि लगातार चार खेलमा हार बेहोरेको नेपालले यो जितसँगै हारको शृङ्खला तोडेको छ। २० खेलमा १२ अङ्कका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको नेपालका लागि बाँकी तीनवटै खेल जित्नु शीर्ष स्थानतर्फ उक्लिन अनिवार्य छ। युएईविरुद्धको यो संघर्षपूर्ण जितले खेलाडीमा नयाँ उत्साह थपेको छ, जसको मद्दतले अब घरेलु टोलीले अर्को प्रतिद्वन्द्वी ओमानको सामना उच्च मनोबलका साथ गर्नेछ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १२ : ०९ बजे