१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

मनोहरा सुकुमवासी बस्तीमा डोजर चलाउँदा झडप, डीएसपीसहित प्रहरी घाइते



काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित मनोहरा सुकुमवासी बस्तीमा डोजर चलाउने क्रममा स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको छ ।

सरकारले नदी किनारका सुकुमवासी बस्ती हटाउने अभियान अन्तर्गत शनिबार साँझ यस क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय बासिन्दाले चर्को विरोध गर्दै ढुंगामुढा प्रहार गरेका हुन्। साँझको समयमा अचानक घरहरू भत्काउन थालेपछि आक्रोशित बनेका स्थानीयको प्रतिकारका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार केही सुरक्षाकर्मी घाइते भएका छन् ।

यस झडपमा थिमि प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज ढुंगानासहित अन्य केही प्रहरीहरू घाइते भएको जानकारी प्राप्त भएको छ। विशेषगरी बस्तीभित्र रहेका केही पक्की घरहरूमा डोजर लगाउन थालेपछि स्थानीय बासिन्दा थप उत्तेजित बनेका थिए। ढुंगामुढा र कडा अवरोध भएपछि सुकुमवासी बस्ती हटाउने कार्य शनिबारका लागि स्थगित गरिएको छ भने आइतबार बिहानैबाट पुनः डोजर चलाइने तयारी प्रहरीले गरेको छ।

सरकारले काठमाडौँका नदी किनारमा रहेका पाँचवटा मुख्य बस्तीहरू खाली गराउने लक्ष्य लिएको छ । यसअघि काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीको बस्ती पूर्ण रूपमा खाली भइसकेको छ भने गैरीगाउँ र शान्तिनगरका बासिन्दाले पनि डोजर चलेपछि आफ्ना सामान सारेर बस्ती छाडिसकेका छन् ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगर, गैरीगाउँ, थापाथली, गोठाटार र मनोहरा टोलमा गरी कुल ८७१ घरधुरी रहेका छन्। सरकारले बाँकी रहेका अन्य सुकुमवासी बस्तीहरूमा पनि आइतबारबाटै थप कडाइका साथ डोजर चलाउने योजना बनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १२ : १० बजे