१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

चोरलाई पनि सम्पत्ति सुद्धिकरणको मुद्दा



लगातार चोरीलाई नै पेसा बनाउँदै आएका बाँकेका प्रेम थारुविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । प्रहरीले गरेको अनुसन्धानअनुसार चोरीबाटै उनले ६ करोड २२ लाख १६ हजार २१६ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको छ ।

प्रेम थारु लाई गत २१ माघ २०८२ मा काठमाडौंको नागार्जुन नगरपालिका–६ पुरीगाउँ क्षेत्रमा प्रहरीले गोली हानेर पक्राउ गरेको थियो । पक्राउका क्रममा उनीबाट ६५ तोलाभन्दा बढी सुन बरामद भएको थियो ।

प्रहरीका अनुसार कालो वर्ण र दुब्लो शरीर भएका थारु चोरीमा अत्यन्तै खप्पिस थिए । उनी दिउँसो रेकी गर्ने, मानिसको लवाइ–खवाइबाटै सम्पत्तिको आकलन गर्ने र मौका मिल्नासाथ चोरी गर्ने शैली अपनाउँथे ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापा का अनुसार चोरीको मुद्दामा पक्राउ परेपछि अनुसन्धान गर्दा थारुको अकुत सम्पत्ति भेटिएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरणअन्तर्गत समेत अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।

अनुसन्धानका क्रममा थारुले चोरीकै पैसाबाट ९८ लाख रुपैयाँमा टोयटा हाइलक्स खरिद गरेको खुलेको छ । प्रदेश ०३–०२३ च ४२२८ नम्बरको उक्त गाडी आफ्नो भएको उनले बयानमा स्वीकार गरेका छन् । उनले सुनचाँदीका गरगहना बिक्री गरेर गाडी किनेको बताएका छन् ।

थारुले चोरीबाटै बाँकेको कोहलपुर क्षेत्रमा जग्गा किनेर साढे तीन तले पक्की घर निर्माण गरेको पनि बयान दिएका छन् । उनले ५/७ वर्षअघि करिब ४० लाख रुपैयाँमा दुई कट्ठा जग्गा किनेर घर बनाएको बताएका छन् । प्रहरीले बाँकेको बैजापुर क्षेत्रमा रहेको उनको जग्गासमेत अनुसन्धानको दायरामा ल्याएको छ ।

प्रहरीले बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बेलासपुरस्थित थारुको घरमा खानतलासी गर्दा १६ देशका मुद्रा बरामद गरेको जनाएको छ । घरबाट अमेरिकी डलर, कतारी रियाल, चिनियाँ युआन, भारतीय रुपैयाँ, अस्ट्रेलियन डलर, सिंगापुर डलरलगायत विभिन्न विदेशी मुद्रा, सिक्का, एटीएम कार्ड, चेक तथा अन्य सामग्री फेला परेको थियो । विदेशी मुद्रा र फ्रान्सको बैंकको एटीएमसमेत भेटिएकाले उनले विदेशी पर्यटकलाई पनि निशाना बनाएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रहरीका अनुसार थारुको बैंक खातामा समेत १८ लाखभन्दा बढी रकम भेटिएको छ । एभरेस्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नबिल बैंकमा रहेको रकम जफत गर्न माग गरिएको छ। साथै, उनको हाइलक्स गाडी र विभिन्न स्थानका जग्गासमेत जफत गर्न मागदाबी गरिएको छ ।

विभिन्न उपनाम प्रयोग गरेर चोरी गर्ने थारु ‘सुप्रिम’, ‘विकास’ र ‘सौरभ’ नामबाट चिनिने गरेका थिए। प्रहरीले उनीसँग विभिन्न व्यक्तिका नागरिकता समेत फेला पारेको थियो । उनी काठमाडौंमा कोठा भाडामा बस्दा पर्साबाट जारी भएको दीपक श्रेष्ठ नामको नागरिकता र भोजपुरबाट जारी भएको निर्मल प्रधानको नागरिकता प्रयोग गर्ने गरेको खुलेको छ ।

गत माघमा काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित रिन्जी लामा को घरबाट करिब १ करोड ४ लाख रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको घटनामा पनि थारुको संलग्नता खुलेको थियो । पीडितले ३ करोड ६ लाख रुपैयाँभन्दा बढीको गरगहना तथा नगद चोरी भएको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रहरीका अनुसार थारु पटके अभियुक्त हुन् । यसअघि पनि उनीविरुद्ध चोरीसम्बन्धी मुद्दा चलेका थिए । २०७९ सालमा उनी तीन वर्ष कैद सजाय पाएर जेल गएका थिए । तर ‘असल चालचलन’को आधारमा पेरोल सुविधामार्फत २५ जेठ २०८२ मा रिहा भएका थिए । प्रहरीका अनुसार उनी मंसिर २०८२ सम्म जेलमै बस्नुपर्ने थियो। पेरोलमा छुटेपछि पनि उनले चोरीका गतिविधि जारी राखेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १० : २५ बजे