१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

कर्मचारीको तलब र भत्तामा भारी बृद्धि, ४० हजारदेखि एक लाख रुपैयाँ पुग्ने



सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी सरकारी कर्मचारीको तलब संरचनामा गरेको वृद्धि पछि तल्लो तहदेखि उच्च प्रशासनिक तहसम्मको पारिश्रमिक उल्लेख्य रूपमा बढ्ने भएको छ । नयाँ व्यवस्थाअनुसार कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको मासिक आम्दानी क्रमशः ४० हजार रुपैयाँभन्दा माथिदेखि एक लाख रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि र कार्यसम्पादनमा आधारित १० प्रतिशत प्रोत्साहन भत्तासहित कुल करिब २१ प्रतिशतसम्मको तलब वृद्धि हुने घोषणा गरेका हुन् । बजेट वक्तव्यमा महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको उल्लेख छ भने नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिने पनि जनाइएको छ ।

सरकारको दाबी अनुसार नयाँ व्यवस्थाले सबै तहका कर्मचारीको आधारभूत तलबमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने छ। यसअनुसार हाल २६ हजार ८२ रुपैयाँ आधारभूत तलब पाउँदै आएका कार्यालय सहयोगीको तलब ३१ हजार ५५९ रुपैयाँ पुग्नेछ। महँगी भत्ता र ग्रेड समेत जोडिँदा उनीहरूको मासिक आम्दानी करिब ४० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

यस्तै, खरिदार तहका कर्मचारीको मासिक आम्दानी महँगी भत्ता र ग्रेडसहित करिब ४४ हजार ८१० रुपैयाँ पुग्नेछ भने नायब सुब्बाको तलब ४७ हजार २३ रुपैयाँ हुने बताइएको छ । अधिकृत तहका कर्मचारीको मासिक आम्दानी ५७ हजार ८६२ रुपैयाँ पुग्नेछ। हाल ३४ हजार ७३० रुपैयाँ आधारभूत तलब पाउँदै आएका अधिकृतहरूको आयमा उल्लेख्य वृद्धि हुने देखिएको छ ।

त्यस्तै उपसचिव तहको मासिक आम्दानी ६३ हजार ९७१ रुपैयाँ पुग्नेछ भने सहसचिवको तलब ७३ हजार ७१२ रुपैयाँ पुग्नेछ। सचिव तहका कर्मचारीको मासिक तलब ९२ हजार २१९ रुपैयाँ पुग्ने अनुमान गरिएको छ। हाल सचिवको आधारभूत तलब ७२ हजार ८२ रुपैयाँ रहेको छ।

मुख्यसचिवको हकमा भने नयाँ व्यवस्थापछि मासिक तलब ९८ हजार ४१२ रुपैयाँ पुग्ने उल्लेख छ । हाल मुख्यसचिवको आधारभूत तलब ७७ हजार २१२ रुपैयाँ रहेको छ। ग्रेड रकम जोडिँदा भने उच्च तहका कर्मचारीको मासिक आम्दानी एक लाख रुपैयाँभन्दा माथि पुग्ने सरकारी अनुमान छ ।

सरकारले तलब वृद्धि आगामी साउनदेखि लागू हुने जनाएको छ। नयाँ तलब संरचनाले कर्मचारीको जीवनस्तर सुधार हुने अपेक्षा गरिएको भए पनि ग्रेड र भत्ता जोडिएपछि मात्रै वास्तविक मासिक आम्दानी स्पष्ट हुने देखिन्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ९ : १८ बजे