१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोली सोमबार भारत जाँदै, मोदीसँग भेटवार्ता हुने



सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सोमबार भारत भ्रमणमा जाने भएको छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको भ्रमणबारे भारतीय सत्तारूढ दल भाजपाले आइतबार औपचारिक जानकारी सार्वजनिक गरेको हो।

रास्वपाले भ्रमणबारे अहिलेसम्म औपचारिक घोषणा नगरे पनि भाजपाको वैदेशिक मामिला विभागले जारी गरेको विज्ञप्तिमा सभापति लामिछाने नेतृत्वको टोलीले नयाँदिल्लीमा भाजपा अध्यक्ष नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ।

पार्टी स्रोतका अनुसार प्रतिनिधिमण्डलमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहभागी हुनेछन्। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्चस्तरीय नेताहरूसँग समेत भेटघाटको प्रयास हुने बताइएको छ। यद्यपि ती भेटवार्ताको समय भने अझै तय भइनसकेको स्रोतले जनाएको छ।

नेपाल–भारत सम्बन्धका सन्दर्भमा भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको तथा नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमणसमेत तय हुन नसकेको अवस्थामा रास्वपा नेतृत्वको यो भ्रमणलाई दुई देशबीचको राजनीतिक संवादको महत्वपूर्ण अवसरका रूपमा विश्लेषण गरिएको छ।

भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच पार्टीगत सम्बन्ध सुदृढ गर्नु तथा पार्टी-टू-पार्टी सहकार्यको आधार तयार गर्नु रहेको छ। विज्ञप्तिमा संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया, सुशासन तथा जनमुखी राजनीतिक अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्ने अपेक्षा गरिएको उल्लेख छ।

गत फागुन २१ गतेको निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेलाई टेलिफोनमार्फत बधाई दिएका थिए। त्यही क्रममा भारत भ्रमणको विषयमा पनि प्रारम्भिक छलफल भएको स्रोतको भनाइ छ।

रास्वपा नेतृत्वको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध, दुई दलबीचको राजनीतिक सहकार्य तथा क्षेत्रीय कूटनीतिक संवादमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ९ : ५७ बजे