राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरूले पार्टीभित्र देखिएको असन्तुष्टि र विभाजनको चर्चाबीच नेता तथा कार्यकर्तालाई पार्टी नछाड्न आग्रह गरेका छन् । पूर्वअध्यक्षहरू कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले शनिबार संयुक्त वक्तव्य जारी गर्दै अहिलेको परिस्थितिमा पार्टी त्याग्ने वा पलायन हुने सोच नराख्न अनुरोध गरेका हुन् ।
संयुक्त वक्तव्यमा उनीहरूले पार्टी जीवनमा हार–जित तथा आरोह–अवरोह स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि आफ्नो सिद्धान्तप्रति निष्ठावान् रहन कार्यकर्तालाई आग्रह गरेका छन् । “अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ,” वक्तव्यमा भनिएको छ ।
राप्रपाका महामन्त्री धवल शमशेर राणा लगायत केही नेताहरूले पार्टी छोड्न सक्ने चर्चा सार्वजनिक भइरहेका बेला पूर्वअध्यक्षहरूको यो अपिल आएको हो । उनीहरूले वर्तमान अवस्थामा राप्रपा अझ बढी एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
पूर्वअध्यक्षहरूले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत सफलता हासिल गर्न नसकिएको स्वीकार गर्दै त्यसबाट निराश नहुन आग्रह गरेका छन् । पार्टी एकतालाई सुदृढ बनाउँदै प्रभावकारी कार्ययोजनासहित अघि बढ्न सके छोटो समयमै उल्लेखनीय सफलता प्राप्त गर्न सकिने उनीहरूको विश्वास छ ।
वक्तव्यमा हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि राप्रपाको भूमिका अझै आवश्यक रहेको दाबी गरिएको छ । “हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्न सक्छौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्य उज्ज्वल छ,” भन्दै उनीहरूले कार्यकर्तालाई संगठन निर्माणमा सक्रिय हुन आह्वान गरेका छन् ।
पार्टीभित्र देखिएका समस्या, विकृति र चुनौतीहरूको समाधान आगामी महाधिवेशनबाट खोजिने पनि उनीहरूले स्पष्ट पारेका छन् । केन्द्रीय कार्यसम्पादन समितिले जेठको अन्तिम सातामा बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति तय गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै तोकिएकै समयमा महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गरिएको छ ।
पूर्वअध्यक्षहरूले राप्रपाको स्थापना कालको स्मरण गर्दै २०४७ साल जेठ १५ गते बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा पार्टी स्थापना भएको उल्लेख गरेका छन्। मुलुकले सामना गरिरहेको वर्तमान संकटबाट निकास दिन राप्रपालाई अझ सशक्त र संगठित बनाउन आफूहरू सदैव प्रतिबद्ध रहेको उनीहरूको भनाइ छ।
राप्रपाभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्व विवादका बीच आएको पूर्वअध्यक्षहरूको यो संयुक्त अपिललाई पार्टी एकता जोगाउने प्रयासका रूपमा हेरिएको छ ।








