कोलोराडो, अमेरिका । नेपालका महावाणिज्यदूत सुरेश अधिकारीको प्रमुख आतिथ्यमा शेर्पा संघ कोलोराडो र डलासस्थित नेपालको महावाणिज्यदूतावासको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६ भव्य रूपमा सम्पन्न भएको छ ।
वेस्टमिन्स्टरस्थित नेपाली घरको एभरेष्ट हलमा आयोजित कार्यक्रममा नेपाली समुदाय, स्थानीय जनप्रतिनिधि, विशिष्ट अतिथि, हिमाल आरोही, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन पासाङ शेर्पाले गरेका थिए । उनले सगरमाथा केवल विश्वको सर्वोच्च शिखर मात्र नभई नेपालको राष्ट्रिय गौरव, साहस, एकता, आशा तथा नेपाली पहिचानको प्रतीक भएको उल्लेख गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा समुदायका सदस्यहरूलाई स्वागत गरे ।
कार्यक्रममा नेपाल महावाणिज्यदूतावास डलासका महावाणिज्यदूत सुरेश अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी उपमहावाणिज्यदूत धनकुमारी जोशी, बोल्डरका मेयर आरोन ब्रोकेट, बोल्डर काउन्टीका जिल्ला न्यायाधिवक्ता माइकल डोअर्टीलगायत विभिन्न स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो ।

समारोहमा शेर्पा फाउन्डेसनका संस्थापक तथा शेर्पा संघ कोलोराडोका सल्लाहकार पेम्बा तेन्जिङ शेर्पा, हेल्पिङ ह्यान्ड्सका संस्थापक नारायण श्रेष्ठ, विश्वप्रसिद्ध हिमाल आरोही ल्हाक्पा रिता शेर्पा, गैरआवासीय नेपाली संघ, अमेरिका (एनआरएनए, अमेरिका) का प्रतिनिधिहरू, एनआरएनए कोलोराडो च्याप्टर, आइएनएलएस, नेपाली घर, मगर संघलगायत विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, सञ्चारकर्मी र समुदायका अगुवाहरूको विशेष उपस्थिति थियो ।
औपचारिक कार्यक्रम नेपाल र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानबाट प्रारम्भ गरिएको थियो । त्यसपछि नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री डा. शिशिर खनालद्वारा पठाइएको विशेष भिडियो सन्देश प्रस्तुत गरियो, जसले विदेशमा रहेका नेपालीहरूलाई सगरमाथा र नेपालको गौरबसँग जोड्ने महत्वपूर्ण सन्देश दिएको थियो ।
कार्यक्रममा शेर्पा समुदायको मौलिक तथा परम्परागत सेब्रु नृत्य प्रस्तुत गरिएको थियो । साथै पेम्बा शेर्पाद्वारा नेपाली गीत “के भन्ने हाम्रो समय” मा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूको मन जित्यो ।

शेर्पा संघ कोलोराडोका महासचिव नीमा शेर्पाले स्वागत मन्तव्य राख्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोहले नेपाली समुदायलाई एकताबद्ध गर्न, शेर्पा समुदायको योगदानलाई सम्मान गर्न तथा नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्डरका मेयर आरोन ब्रोकेट, एनआरएनए, अमेरिकाका युवा उपाध्यक्ष प्रकाश पौडेल, नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईं, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरुङ तथा हेल्पिङ ह्यान्ड्सका संस्थापक नारायण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरे ।
उनीहरूले अन्तर्राष्ट्रिय सगरमाथा दिवसले नेपाली समुदायको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाली समुदायबीच सहकार्य, एकता तथा सांस्कृतिक संरक्षणलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा सगरमाथा आरोही रोहित श्रेष्ठले सगरमाथा आरोहणमा शेर्पा समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शेर्पा बिना हिमाल आरोहणको सफलता कल्पना गर्न नसकिने बताए । त्यसैगरी १६ पटक सगरमाथा आरोहण गरिसकेका ल्हाक्पा रिता शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव, हिमपहिरोमा आफ्ना सहकर्मी गुमाउनुपरेको पीडा तथा भविष्यमा सगरमाथा आरोहण नगर्ने आफ्नो निर्णयबारे जानकारी गराए ।
अर्की सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले पनि आफ्नो आरोहण यात्राका संघर्षपूर्ण अनुभव सुनाउँदै हालसम्म ८ हजार मिटरभन्दा माथिका आठ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेको र आफ्नै देशको सगरमाथालाई विश्वभर चिनाउन पाएकोमा गर्व लागेको बताइन् ।
विशेष आकर्षणका रूपमा “The Ultimate Everest Documentary: From Base Camp to the Top of the World – What It Really Takes” शीर्षकको वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त वृत्तचित्रले सगरमाथा आरोहणका चुनौती, तयारी, साहस, समर्पण तथा शेर्पा गाइडहरूको अतुलनीय योगदानलाई उजागर गरेको थियो । सो अवसरमा कार्यक्रममा उपस्थित हिमाल आरोहीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो ।
समारोहमा नेपाली तथा शेर्पा समुदायको उत्थान, सांस्कृतिक संरक्षण तथा सामाजिक सेवामा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरियो । आयोजकहरूले यस्ता सम्मानले समुदायमा सेवाभाव र नेतृत्व विकासको प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत सुरेश अधिकारीले कोलोराडोमा सगरमाथा आरोहीहरूसँग अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन पाएकोमा गर्व लागेको बताए । साथै, कोलोराडोका गभर्नरद्वारा “Sherpa Appreciation Day” को आधिकारिक घोषणा गरिएको ऐतिहासिक अवसरमा सहभागी हुन पाएकोमा उनले खुशी व्यक्त गरे ।
उनले यस्तो उपलब्धिले सम्पूर्ण नेपाली समुदायको शिर उच्च बनाएको धारणा राखे । आगामी वर्षहरूमा कोलोराडोमा पासपोर्ट शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै उनले डलासस्थित नेपाली महावाणिज्यदूतावासबाट उपलब्ध सेवाहरूको अधिकतम उपयोग गर्न अनुरोध गरे ।
समारोहको समापन गर्दै शेर्पा संघ कोलोराडोका सल्लाहकार तथा शेर्पा फाउन्डेसनका संस्थापक पेम्बा तेन्जिङ शेर्पाले धन्यवाद ज्ञापन गरे । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने महावाणिज्यदूतावास, प्रायोजक संस्था, स्वयंसेवक, कलाकार, सञ्चारकर्मी तथा सम्पूर्ण सहभागीहरू प्रति हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रमपछि सामूहिक तस्बिर खिचिनुका साथै रात्रिभोजको आयोजना गरिएको थियो । सहभागीहरूले सगरमाथा, शेर्पा सम्पदा, नेपाली संस्कृति तथा सामुदायिक एकताको उत्सवका रूपमा यो कार्यक्रम अत्यन्त सफल, ऐतिहासिक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६ को यो विशेष समारोहले नेपालको गौरवशाली पर्वतीय इतिहास, शेर्पा समुदायको विश्वव्यापी योगदान तथा नेपाली संस्कृतीको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन् ।









