१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

असई थमन विक हत्या प्रकरणः पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’लाई पाँच वर्ष कैद



काठमाडौं । असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’सहित छ जना अभियुक्तलाई जनही पाँच वर्ष कैद सजाय सुनाएको छ।

मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार महोत्तरी जिल्ला अदालतको फैसला उल्ट्याउँदै कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद हुने फैसला गरेको हो।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते कोइरी र पवन कापरलाई सफाइ दिएको थियो। उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै दुवैलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको हो।

त्यसैगरी, जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको हकमा पनि उच्च अदालतले जिल्ला अदालतको फैसला संशोधन गर्दै जन्मकैदको सट्टा पाँच वर्ष कैद सजाय हुने निर्णय गरेको छ।

यद्यपि, जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ।

२०७२ भदौ २५ गते महोत्तरीमा भएको असई थमन विक हत्या प्रकरणमा तत्कालीन नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो ‘कोइरी’सहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो।

उच्च अदालतको पछिल्लो फैसलासँगै बहुचर्चित यस हत्याकाण्डमा जिल्ला अदालतको निर्णय आंशिक रूपमा उल्टिएको छ भने केही अभियुक्तको सजाय कायम राखिएको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १० : १६ बजे