१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

अष्ट्रेलियाको भिषा शुल्क २५ प्रतिशतसम्म वृद्धि, नेपाली विद्यार्थीलाई बढ्यो आर्थिक भार



काठमाडौं । अध्ययन, भ्रमण तथा रोजगारीका लागि अष्ट्रेलिया जाने तयारीमा रहेका नेपालीलाई थप आर्थिक भार पर्ने भएको छ। अष्ट्रेलिया सरकारले विभिन्न श्रेणीका भिषा आवेदन शुल्क २५ प्रतिशतसम्म वृद्धि गरेपछि विशेषगरी नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित हुने भएका छन्।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले सन् २०२६–२७ को बजेट कार्यान्वयनअन्तर्गत अध्यागमन नियम संशोधन गर्दै विद्यार्थी, अस्थायी स्नातक, भ्रमण, पार्टनर तथा अभिभावकलगायत अधिकांश भिषा श्रेणीको आवेदन शुल्क बढाएको हो। नयाँ शुल्क जुलाई १ देखि लागू भएको छ।

नयाँ व्यवस्थाअनुसार विद्यार्थी (स्टुडेन्ट) भिषाको आवेदन शुल्क २ हजार अष्ट्रेलियन डलरबाट बढाएर २ हजार ५ सय अष्ट्रेलियन डलर पुर्‍याइएको छ। त्यसैगरी, अस्थायी स्नातक (सबक्लास–४८५) भिषाको आवेदन शुल्क ४ हजार ६ सय डलरबाट बढाएर ५ हजार ७ सय ५० अष्ट्रेलियन डलर बनाइएको छ।

यस निर्णयले अष्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य रहने वा नरहने विषयमा समेत प्रश्न उठाएको छ।

अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीले भिषा शुल्कसँगै विश्वविद्यालयको शुल्क, स्वास्थ्य बिमा, बसोबास र अन्य खर्च पनि व्यहोर्नुपर्ने हुन्छ। नयाँ शुल्क वृद्धिले अध्ययनका लागि आवश्यक प्रारम्भिक लागत उल्लेख्य रूपमा बढ्नेछ। अध्ययनपछि अष्ट्रेलियामै रोजगारी र स्थायी बसोबास गर्ने योजना बनाएका विद्यार्थीसमेत यसबाट प्रभावित हुनेछन्।

अष्ट्रेलियाको अध्ययन भिषा आवेदन स्वीकृत हुने निश्चितता हुँदैन। ‘आईईएलटीएस’ वा ‘पीटीई’ परीक्षा, कन्सल्टेन्सी तथा अन्य तयारीमा खर्च गरिसकेपछि भिषा अस्वीकृत भए आवेदन शुल्क फिर्ता नहुने व्यवस्था छ। नयाँ शुल्कअनुसार एक विद्यार्थीले अध्ययन भिषाका लागि तिर्नुपर्ने २ हजार ५ सय अष्ट्रेलियन डलर नेपाली रुपैयाँमा करिब ३ लाख ८२ हजार बराबर पर्छ। विनिमय दर परिवर्तनसँगै यो लागत अझ बढ्न सक्नेछ।

अष्ट्रेलियामा अध्ययन पूरा गरेपछि कार्यअनुभवका लागि दिइने अस्थायी स्नातक (सबक्लास–४८५) भिषाको शुल्क पनि २५ प्रतिशत बढाइएको छ। यसले अध्ययनपछि इन्टर्नसिप वा रोजगारी गर्दै अनुभव बटुल्न चाहने नेपाली विद्यार्थीको खर्च थप बढाउनेछ।

अंग्रेजी भाषा सिकेर पछि व्यावसायिक कोर्समा प्रवेश गर्ने योजना बनाउने विद्यार्थीका लागि पनि नयाँ व्यवस्था लागू गरिएको छ। अब इंग्लिस ल्यांग्वेज इन्टेन्सिभ कोर्स फर ओभरसिज स्टुडेन्ट (ELICOS) अध्ययन गर्न छुट्टै भिषा आवेदन आवश्यक हुनेछ, जसका लागि २ हजार ५० अष्ट्रेलियन डलर शुल्क तिर्नुपर्नेछ।

अष्ट्रेलियामा अध्ययनरत धेरै नेपाली विद्यार्थीले अध्ययन, रोजगारी, बढ्दो जीवनयापन खर्च तथा एक्लोपनका कारण मानसिक तनावको सामना गर्दै आएका छन्। भिषा आवेदनको प्रारम्भिक चरणमै उच्च शुल्क तिर्नुपर्ने अवस्थाले आर्थिक अनिश्चितता र मानसिक दबाब अझ बढ्ने विश्लेषण गरिएको छ।

विशेषज्ञहरूका अनुसार बढ्दो लागतका कारण आगामी दिनमा नेपाली विद्यार्थीले अध्ययन गन्तव्यका रूपमा अष्ट्रेलियाको सट्टा अन्य देशलाई प्राथमिकता दिन सक्ने सम्भावना पनि बढेको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १० : १९ बजे