१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

प्रधानमन्त्री शाहद्वारा सात विश्वविद्यालयमा उपकुलपति नियुक्त



प्रधानमन्त्री तथा विभिन्न विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापालाई नियुक्त गरेका हुन्। थापा यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति थिए ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल, पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, राजर्षी जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ तथा कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेललाई उपकुलपतिमा नियुक्त गरिएको छ।

नवनियुक्त उपकुलपतिमध्ये मरहठ्ठा नेपाल खुला विश्वविद्यालयका प्राध्यापक तथा चिकित्सा शिक्षा आयोगका पूर्वनिर्देशक हुन्। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्त भट्ट इन्जिनियरिङ संकायका प्राध्यापक हुन्। उनले हङकङ विश्वविद्यालयबाट सहरी योजना तथा डिजाइन विषयमा विद्यावारिधि गरेका छन्।

कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक कट्टेल सोही विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका हुन्। उनले कृषि अर्थशास्त्र तथा कृषि व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्।

राजर्षी जनक विश्वविद्यालयका उपकुलपति नियुक्त लाभ प्राणीशास्त्रका प्राध्यापक हुन्। उनले दिल्ली विश्वविद्यालयबाट ‘माछाको पोषण’ विषयमा विद्यावारिधि गरेका छन्।

पोखरा विश्वविद्यालयका उपकुलपति अधिकारी त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र मोरङ क्याम्पसमा लामो समयदेखि भौतिकशास्त्र अध्यापन गर्दै आएका प्राध्यापक हुन्। उनले भागलपुर विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका छन्।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्त सुवाल त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन्। उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसको सिभिल इन्जिनियरिङ विभागमा कार्यरत थिए।

सरकारले आठ विश्वविद्यालयका उपकुलपति पदका लागि एकैपटक आवेदन आह्वान गरेको थियो, जसमा २१८ जनाले आवेदन दिएका थिए। उपकुलपति छनोट तथा सिफारिस कार्यविधिअनुसार प्रत्येक विश्वविद्यालयका लागि १०/१० जनाको सर्टलिस्ट तयार गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ता सञ्चालन गरिएको थियो। त्यसपछि प्रत्येक विश्वविद्यालयबाट तीन–तीन जनाको नाम अन्तिम सिफारिसका लागि छनोट गरी प्रधानमन्त्री शाहसमक्ष पठाइएको थियो। छनोट समितिको अध्यक्ष शिक्षामन्त्री पोखरेल रहेका थिए भने विज्ञमार्फत आवेदकहरूको मूल्यांकन गरिएको थियो।

शिक्षा मन्त्रालयका अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया भने अझै जारी रहेको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ५५ बजे