काठमाडौं, संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ ।
नयाँ सरकार गठन भएको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा कार्यदलका संयोजक असिम साहले कार्यदलले संविधान संशोधनको मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार कार्यदलले संविधानविद्, सरोकारवाला निकाय तथा विभिन्न राजनीतिक दलसँग व्यापक छलफल गरिसकेको छ भने प्रतिवेदन लेखनको चरणमा प्रवेश गरिसकेको छ।
‘संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको छ। असार मसान्तभित्र सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने हाम्रो कार्यक्रम छ,’ संयोजक साहले भने ।
उनले कार्यदलले संविधानविद्, विभिन्न सरोकारवाला निकाय र राजनीतिक दलसँग परामर्श तथा छलफललाई निरन्तरता दिएको उल्लेख गर्दै प्रतिवेदन तयार भएपछि त्यसबारे थप जानकारी सार्वजनिक गरिने बताए ।
साहका अनुसार अहिले कार्यदल प्रतिवेदनलाई अन्तिम रूप दिने चरणमा पुगेको छ। प्रतिवेदन बुझाइएपछि त्यसका आधारमा संविधान संशोधनसम्बन्धी थप प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।









