अमेरिका र इरानबीच अस्थायी युद्धविराम सम्झौता भंग भएपछि द्वन्द्व थप चर्किएको छ । अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात हवाई तथा समुद्री आक्रमण गरेको जनाएको छ भने इरानले त्यसको प्रतिकारस्वरूप अमेरिकी साझेदार मुलुकहरूलाई लक्षित गरी मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो आक्रमणमा इरानका निगरानी केन्द्र, सैन्य रसद पूर्वाधार, भूमिगत हतियार भण्डारण स्थल तथा समुद्री सैन्य क्षमता लक्षित गरिएको थियो। सेन्टकमले लडाकु विमान, ड्रोन, युद्धपोत तथा अन्य सैन्य साधन प्रयोग गरी शुक्रबार राति स्थानीय समयअनुसार करिब ९:३० बजे आक्रमण सम्पन्न भएको जनाएको छ।
इरानले भने अमेरिकी आक्रमणको जवाफस्वरूप कुवेत, जोर्डन र बहराइनलगायत अमेरिकी सहयोगी राष्ट्रहरूलाई लक्षित गरी मिसाइल प्रहार गरेको जनाएको छ। कुवेतले एक विद्युत् केन्द्र, पानी प्रशोधन संयन्त्र तथा एउटा तेलसम्बन्धी पूर्वाधारमा क्षति पुगेको पुष्टि गर्दै केही व्यक्ति घाइते भएको जनाएको छ।
जोर्डनको सेनाले आफ्नो आकाशमा प्रवेश गरेका इरानका १० वटा मिसाइल खसालेको जनाएको छ भने बहराइनले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानी आक्रमण विफल पारेको दाबी गरेको छ।
खाडी सहयोग परिषद् (जीसीसी) का महासचिव जासेम मोहम्मद अलबुदाइविले कुवेत, जोर्डन र बहराइनमाथिको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको भन्दै नागरिक पूर्वाधारमाथि जानाजानी गरिएको आक्रमणलाई ‘युद्ध अपराध’ को संज्ञा दिएका छन्। उनले पछिल्लो घटनाक्रमलाई खतरनाक तनाव वृद्धि भन्दै अन्तर्राष्ट्रिय समुदायबाट जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेका छन्।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले तेहरान वार्ताप्रति प्रतिबद्ध रहे पनि अमेरिकी आक्रमणपछि अस्थायी सम्झौताअन्तर्गतका दायित्व निलम्बन गरिएको बताएका छन्।
अमेरिका र इरानबीच गत जुनमा स्थायी शान्ति वार्ताका लागि अस्थायी युद्धविराम भएको थियो। तर वार्तामा उल्लेख्य प्रगति हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ८ मा उक्त सम्झौता समाप्त भएको घोषणा गरेका थिए। त्यसयता अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेको छ भने इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्य बन्द गरिएको घोषणा गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्लो अमेरिकी आक्रमणका क्रममा यज्द, केश्म टापु तथा बन्दर अब्बास क्षेत्रमा विस्फोट भएका छन्। बन्दर अब्बासनजिकका शाहिद मिर्जाई सुरुङ क्षेत्रमा पनि क्षति पुगेको पुष्टि भएको छ।
जास्क क्षेत्रस्थित विद्युत् तथा समुद्री पानी प्रशोधन केन्द्रमा भएको आक्रमणका कारण करिब २० वटा गाउँका १० हजारभन्दा बढी बासिन्दा खानेपानी सेवाबाट वञ्चित भएका छन्। त्यस्तै उत्तरी होर्मोजगान क्षेत्रमा एक सयभन्दा बढी दूरसञ्चार टावर प्रभावित हुँदा मोबाइल, इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध भएको जनाइएको छ।
यसैबीच, इरानी समाचार संस्था फार्सले होर्मुज जलडमरूमध्यको दक्षिणी क्षेत्रमा दुई तेल ट्यांकर विस्फोट भएर आगलागी भएको दाबी गरे पनि अमेरिकी सेनाले त्यसलाई असत्य भन्दै खण्डन गरेको छ।
यसअघि इरानले कुवेत, बहराइन, जोर्डन तथा पहिलोपटक सिरियास्थित अमेरिकी सैन्य अड्डाहरूमा पनि आक्रमण गरेको दाबी गरेको थियो। अमेरिकी पक्षले ती दाबीको पूर्ण पुष्टि नगरे पनि अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार जोर्डनका दुई सैन्य अड्डामा भएको आक्रमणमा केही अमेरिकी सैनिक घाइते भएका छन्।
अमेरिकाले भने आफूले केवल सैन्य लक्ष्यहरूमा मात्र आक्रमण गरेको दाबी गर्दै इरानले नागरिक पूर्वाधारमाथि आक्रमण भएको आरोप अस्वीकार गरेको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार चाबहार बन्दरगाहस्थित इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी) को समुद्री निगरानी सञ्जालसँग सम्बन्धित नियन्त्रण टावर पनि अमेरिकी आक्रमणबाट ध्वस्त पारिएको छ।
अमेरिका–इरानबीच युद्धविराम एक महिनामै विफल भएपछि मध्यपूर्वमा सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको छ। विशेषगरी होर्मुज जलडमरूमध्यमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पर्ने चिन्ता बढेको छ।









