पहाडी जिल्लाका गाउँहरू बढ्दो बसाइँसराइ, घट्दो जन्मदर, गाउँ रित्तिने क्रम, वृद्धजनको संख्या वृद्धि तथा आर्थिक रूपमा विपन्न परिवारका चुनौतीसँग जुधिरहेका बेला तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या वृद्धि र सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै फरक खालका जनमुखी कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ मार्फत धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्दै नवजात शिशुको नाममा पाँच हजारदेखि २० हजार रुपैयाँसम्म बचत गरिदिने व्यवस्था गरेको छ । स्थानीय तहमा जन्मिने बालबालिकाको भविष्य सुरक्षित बनाउने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रमलाई नेपालमै नौलो अभ्यासका रूपमा हेरिएको छ ।
गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूका अनुसार सामाजिक सुरक्षालाई केवल भत्ता वितरणमा सीमित नराखी जन्मदेखि वृद्धावस्थासम्म नागरिकलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। उनका अनुसार बालबालिका जीवन सुरक्षा कार्यक्रमसँगै ज्येष्ठ नागरिक एकल पुरुष सम्मान, घरदैलो स्वास्थ्य उपचार, जनता आवास, मलामी खाजा सहयोग, भोका नागरिकलाई खाना तथा खाद्य रोजगारी कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएका छन्।
राष्ट्रिय बाल दिवसको अवसर पारेर २०८१ भदौ २९ गते सुरु गरिएको ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ अन्तर्गत पहिलो वर्ष ५३ जना नवजात शिशु लाभान्वित भएका थिए। सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीका अनुसार कार्यक्रमप्रति अभिभावकको आकर्षण बढेसँगै आर्थिक वर्ष २०८२/०८३ मा लाभग्राहीको संख्या ७४ पुगेको छ।
चालु आर्थिक वर्षदेखि कार्यविधि संशोधन गरी पहिलो सन्तानका लागि पाँच हजार, दोस्रोका लागि १० हजार, तेस्रोका लागि १५ हजार तथा चौथो र सोभन्दा माथिका प्रत्येक सन्तानका लागि २० हजार रुपैयाँ बालबालिकाको नाममा बचत गर्ने व्यवस्था गरिएको छ। साथै दुई वा सोभन्दा बढी सन्तान भएका परिवारका संरक्षकको नाममा समेत थप बचत गर्ने प्रावधान राखिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार दोस्रो, तेस्रो र चौथो सन्तानका लागि क्रमशः बढी रकम उपलब्ध गराउने नीति पछिल्लो समय घट्दो जन्मदरलाई सम्बोधन गर्दै जनसंख्या वृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो।
अध्यक्ष लिम्बूले जन्मिने प्रत्येक बालबालिकाको भविष्य सुरक्षित बनाउने उद्देश्यले सानो बचतले भविष्यमा शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यकतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
चालु आर्थिक वर्षमा पहिलो सन्तानका २५, दोस्रोका ३३, तेस्रोका १०, चौथोका चार तथा पाँचौँ र छैटौँ सन्तानका एक–एक जना नवजात शिशु कार्यक्रमबाट लाभान्वित भएका छन्।
लाभग्राही अभिभावकहरूले पनि कार्यक्रमको प्रशंसा गरेका छन्। पहिलो सन्तानकी आमा सुजता न्यौपानेले बच्चा जन्मिनेबित्तिकै बचत सुरु हुनु सकारात्मक अभ्यास भएको बताइन्। तेस्रो सन्तानकी अभिभावक भोजकुमारी सङ्ग्रौलाले यसले बालबालिकाको शिक्षा र भविष्यप्रति आशा बढाएको प्रतिक्रिया दिइन् भने चौथो सन्तानकी आमा कमला कार्कीले रकमभन्दा यसको उद्देश्य महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्।
गाउँपालिकाले सामाजिक सुरक्षालाई बालबालिकामा मात्र सीमित नराखी एकल पुरुष ज्येष्ठ नागरिकलाई पनि प्राथमिकतामा राखेको छ। ‘ज्येष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम’ अन्तर्गत एकल पुरुष ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार रुपैयाँसहित सम्मान प्रदान गरिँदै आएको छ।
स्वास्थ्य सेवा पहुँचबाहिर रहेका वृद्धवृद्धालाई लक्षित गर्दै ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार कार्यक्रम’ सञ्चालन गरिएको छ। यसअन्तर्गत स्वास्थ्यकर्मी घर–घरमै पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य परामर्श दिने व्यवस्था गरिएको छ।
त्यसैगरी, आर्थिक अवस्था कमजोर, दलित तथा आवासविहीन परिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग गर्न ‘जनता आवास कार्यक्रम’ सञ्चालन गरिएको छ। आर्थिक अभावका कारण अन्त्येष्टि गर्न कठिन हुने परिवारका लागि ‘मलामी खाजा सहयोग कार्यक्रम’ तथा विपन्न, असहाय र आकस्मिक समस्यामा परेका नागरिकलाई तत्काल भोजन उपलब्ध गराउन ‘भोका नागरिकलाई खाना कार्यक्रम’ सञ्चालनमा रहेको छ।
गाउँपालिकाले राहत वितरणलाई मात्र दीर्घकालीन समाधान नमान्दै ‘खाद्य रोजगारी कार्यक्रम’ पनि सञ्चालन गरेको छ। यसअन्तर्गत श्रम गर्न सक्ने विपन्न नागरिकलाई स्थानीय विकास निर्माणका काममा संलग्न गराई श्रमको प्रतिफलस्वरूप खाद्यान्न वा आवश्यक सहयोग उपलब्ध गराइन्छ।
भौतिक पूर्वाधार निर्माणभन्दा नागरिकको जीवनस्तर सुधारलाई प्राथमिकता दिएको छथर गाउँपालिकाले जन्मिनेबित्तिकै बालबालिकाको भविष्य सुरक्षित गर्ने, धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्ने, ज्येष्ठ नागरिकको सम्मान, घरदैलो स्वास्थ्य सेवा, सुरक्षित आवास, शोकमा साथ, भोकमरी न्यूनीकरण तथा श्रममार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्ने कार्यक्रमलाई सामाजिक सुरक्षाको समग्र मोडलका रूपमा अघि बढाएको जनाएको छ।









