काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा पर्ने ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्स दाइ’ पुर्जाको शव निकालिएको छ ।
बिहीबार आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जा शनिबार मृत भेटिएका थिए । प्रतिकूल मौसमका कारण उनको शव आइतबार मात्रै निकालिएको पाकिस्तानको आरोहणसम्बन्धी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी)लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एसीपीका अनुसार पुर्जाको शव समुद्री सतहबाट करिब ५ हजार ७ सय मिटर उचाइमा फेला परेको थियो । त्यहाँबाट उनको शव जापानी क्याम्पसम्म ल्याउने तयारी गरिएको छ ।
पुर्जाको शव भेटिएको स्थाननजिकै अन्य तीन जनाको शवसमेत फेला परेको छ । उनीहरू हिमपहिरोमा परी मृत्यु भएका १० जनामध्ये को–को हुन् भन्ने पहिचान हुन बाँकी रहेको जनाइएको छ ।
कठिन भूगोलका कारण उद्धार चुनौतीपूर्ण
एसीपीले अत्यन्त कठिन भौगोलिक अवस्था, हिमपहिरोको उच्च जोखिम र ठाडो भीरका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाएको छ ।
प्रतिकूल मौसमका कारण हेलिकप्टर परिचालन गर्न नसकिएपछि पाकिस्तान र नेपालका आठ सदस्यीय उद्धार टोली पैदलै उद्धारमा खटिएको पाकिस्तानी अनलाइन डनले जनाएको छ । टोली आइतबार बिहान ९ बजेअघि क्याम्प–१ पुगेर शव निकाल्ने प्रयासमा जुटेको थियो ।
बेपत्ता पुर्जासहित १० जनामध्ये गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’सहित तीन जनाको शव शुक्रबार नै आधार शिविरमा ल्याइएको थियो ।
बाँकी सात जनाको खोजीका क्रममा ड्रोन तथा हेलिकप्टर प्रयोग गरी उनीहरूको शव रहेको स्थान पत्ता लगाइएको थियो । शनिबार मौसम प्रतिकूल भएपछि उद्धार टोलीले आइतबार बिहान मात्रै शव निकाल्ने काम अघि बढाएको थियो ।
१० जनाको मृत्यु
हिमपहिरोमा परेको आरोहण टोलीमा नेपालका निर्मल पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पा थिए ।
त्यस्तै टोलीमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइस पनि थिइन् ।
पुर्जा संस्थापक रहेको संस्थाले शनिबार हिमपहिरोमा परी उनीहरूसहित सबै १० जनाको मृत्यु भएको घोषणा गरेको थियो ।









