काठमाडौं । काठमाडौं उपत्यकाको सडक पूर्वाधार र सहरी यातायात प्रणालीलाई व्यवस्थित तथा दीर्घकालीन रूपमा सुधार गर्न चौथो बृहत् गुरुयोजना तयार गरिएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टरप्लान’ले सन् २०५० सम्म उपत्यकाको यातायात प्रणालीलाई मार्गनिर्देशन गर्ने लक्ष्य राखेको छ ।
यसअघि सन् १९९३, २०१२ र २०१७ मा पनि काठमाडौं उपत्यकाको सडक तथा यातायातसम्बन्धी गुरुयोजना तथा अध्ययन भएका थिए । विगतका योजना स्वीकृत हुन नसके पनि यसपटक तयार भएको गुरुयोजना मन्त्रिपरिषद्बाट स्वीकृत हुने अपेक्षा गरिएको छ ।
नयाँ गुरुयोजनाले आगामी २४ वर्षमा काठमाडौं उपत्यकाको जनसंख्या करिब ४३ लाख पुग्ने अनुमान गर्दै त्यसअनुसार सडक सञ्जाल विस्तार, यातायातको माग, सार्वजनिक यातायातको प्रयोग, मास ट्रान्जिट प्रणाली, सुरुङमार्ग, चोक सुधार र बस सञ्चालनलगायतका योजना प्रस्ताव गरेको छ । गुरुयोजनामा पूर्वाधारतर्फ २२ वटा र यातायात सुधारतर्फ १३ वटा मुख्य कार्यक्रम प्रस्ताव गरिएका छन् ।
रत्नपार्क–भक्तपुर मेट्रोदेखि चक्रपथ बीआरटीसम्म
गुरुयोजनाको प्रमुख प्रस्तावमध्ये रत्नपार्कदेखि भक्तपुरसम्म १४.६ किलोमिटर लामो पूर्व–पश्चिम मास ट्रान्जिट मेट्रो रेल निर्माण रहेको छ । यसको सहरी क्षेत्र र कोटेश्वर चोक आसपासको भाग भूमिगत तथा बाँकी खण्ड विद्यमान सडक क्षेत्राधिकारभित्र एलिभेटेड संरचनामा निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावअनुसार मेट्रोको १.९ किलोमिटर खण्ड भूमिगत र १२.७ किलोमिटर एलिभेटेड हुनेछ ।
त्यस्तै, अत्यधिक सवारी चाप तथा पुरातात्त्विक सम्पदा क्षेत्रसमेत रहेको गौशाला–चाबहिल खण्डमा भूमिगत सुरुङमार्ग निर्माणको विकल्प अघि सारिएको छ । चक्रपथमा बस र्यापिड ट्रान्जिट (बीआरटी) सञ्चालन गर्ने प्रस्ताव पनि गुरुयोजनामा समेटिएको छ ।
महाराजगन्ज चोकमा अन्डरपास निर्माण, धोबीखोला र विष्णुमती करिडोरमा उन्नत सडक तथा पुल निर्माण, गौशालादेखि तीनकुनेसम्मको चक्रपथ खण्ड विस्तार र थापाथली–त्रिपुरेश्वर क्षेत्रमा नयाँ नदी करिडोर सडक निर्माण गर्ने योजना पनि प्रस्ताव गरिएको छ ।
यस्तै, यूएन पार्क पुल चौडा गर्ने तथा विष्णुमती, धोबीखोला, कर्मनासा, ग्वार्को र थापाथलीस्थित बागमती नदीमा नयाँ पुल निर्माण गर्ने प्रस्ताव छ । यातायात व्यवस्थापन सहज बनाउन २३ वटा इन्टरसेक्सन तथा ट्राफिक सिग्नल सुधार र सडकमा साइकल लेन विकास गर्ने योजना पनि अघि सारिएको छ ।
१६० किलोमिटर आपत्कालीन सडक सञ्जाल
चक्रपथभित्र नयाँ सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न कठिन रहेकाले विद्यमान सडकको क्षमता बढाउने रणनीति गुरुयोजनाले लिएको छ । साथै, आपत्कालीन अवस्थामा अस्पताल तथा सुरक्षा केन्द्रमा सहज पहुँच पुर्याउन १६० किलोमिटर लामो आपत्कालीन सडक सञ्जाल विकास गर्ने प्रस्ताव गरिएको छ ।
विद्युत्, टेलिफोन र इन्टरनेटका तारलगायतका पूर्वाधार व्यवस्थित गर्न युटिलिटी करिडोर निर्माणको प्रस्ताव पनि गरिएको छ । यसअन्तर्गत मानिस प्रवेश गर्न मिल्ने र नमिल्ने दुवै प्रकारका भूमिगत सुरुङको विकल्प राखिएको छ ।
सार्वजनिक यातायातलाई प्राथमिकता
गुरुयोजनाले निजी मोटरसाइकलको प्रयोग घटाउँदै सार्वजनिक यातायातको प्रयोग बढाउने रणनीति लिएको छ । त्यसका लागि हाल रहेका ६५ भन्दा बढी यातायात समितिलाई ५ वा ६ वटा ठूला कम्पनीमा रूपान्तरण गर्न सुझाव दिइएको छ ।
त्यस्तै, ठमेल, काठमाडौं दरबार स्क्वायर र ललितपुर दरबार स्क्वायर क्षेत्रलाई सवारीसाधन निषेधित अर्थात् ‘कार फ्री जोन’ बनाउने प्रस्ताव छ ।









