काठमाडौं । नेकपा एमालेले गठन गरेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले पद त्याग गर्नुपर्ने सुझाव समेटिएको विषय सार्वजनिक भएपछि पार्टीभित्र विवाद चर्किएको छ। प्रतिवेदन सार्वजनिक नभए पनि त्यसमा ओलीको राजीनामा, पार्टी कमिटी पुनर्गठन र भदौ वा असोजसम्म महाधिवेशन प्रतिनिधि परिषद्को भेला बोलाउनुपर्ने सुझाव रहेको नेताहरूले बताएका छन्।
वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा जेठ १० गते गठन भएको १५ सदस्यीय कार्यदलका सदस्यसचिव महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार पारेका हुन्। असार २३ गते बसेको कार्यदल बैठकले विभिन्न प्रदेश तथा स्थानमा भएका छलफलबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी थापा र पोखरेललाई दिएको थियो।
नेताहरूका अनुसार पोखरेलले तयार पारेको प्रतिवेदन थापा र अध्यक्ष ओलीलाई बुझाएका थिए। प्रतिवेदनमा गत फागुन २१ गतेको निर्वाचनमा एमालेको पराजय तथा त्यसअघि भएको जेनजी आन्दोलनको राजनीतिक पृष्ठभूमि विश्लेषण गर्दै सरकारको असफलताको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने सुझाव दिइएको छ।
प्रतिवेदनमा ओलीले नैतिक जिम्मेवारी लिएर अध्यक्ष पद छाड्नुपर्ने र त्यसपछि पार्टीको वर्तमान कमिटी पुनर्गठन गरेर अघि बढ्नुपर्ने सुझाव दिइएको दाबी गरिएको छ। कार्यदलका अधिकांश सदस्यसमेत ओलीको बहिर्गमनको पक्षमा रहेको एक सदस्यले बताएका छन्।
‘तलका सबै कमिटीले अध्यक्षको राजीनामाका लागि दबाब दिएका छन्। कार्यदलमै रहेका अधिकांश सदस्य पनि ओलीको बहिर्गमनको पक्षमा हुनुहुन्छ,’ ती सदस्यले भने, ‘पार्टीका सबै कमिटी पुनर्गठन गरेर जानुपर्छ भन्ने छ।’
प्रतिवेदनमा ७० वर्षे उमेर हदको व्यवस्था र नेतृत्वका लागि दुई कार्यकालको प्रावधान पुनः लागू गर्नुपर्ने विषयसमेत उठाइएको सचिव राजन भट्टराईले बताएका छन्। तर उनले ओलीको राजीनामा माग गरिएको विषय भने अस्वीकार गरेका छन्।
‘पुनर्गठन होइन, चुनावमा किन हामी पराजित भयौँ, कार्यकर्ताले के भन्छन्, त्यसको समीक्षा गर्न खोजिएको हो। ओलीले राजीनामा दिनुपर्ने कुरा छैन,’ भट्टराईले भने।
कार्यदलका केही सदस्यले भने प्रतिवेदन अझै संस्थागत रूपमा टुंगिन बाँकी रहेको बताएका छन्। सचिव शेरधन राई, राजन भट्टराई र भानुभक्त ढकालले आफूहरूले प्रतिवेदनको प्रति नपाएको दाबी गरेका छन्।
राईले कार्यदलको बैठक नै नबसेको र प्रतिवेदनमाथि छलफलसमेत नभएको बताएका छन्। ‘म पनि कार्यदलको सदस्य हुँ। कार्यदलको बैठक बोलाएको छैन, प्रतिवेदन पेस भएको छैन, छलफल पनि छैन,’ उनले भने।
उनले कार्यदल अमूक व्यक्ति वा पद हटाउने उद्देश्यले नभई पार्टीको समग्र अवस्थाबारे सुझाव लिन गठन गरिएको दाबी गरे। कार्यदलमा छलफल नगरी प्रतिवेदन बाहिर ल्याइएको भए संयोजक र महासचिवले त्यसबारे जवाफ दिनुपर्ने उनको भनाइ छ।
प्रतिवेदनप्रति ओली असन्तुष्ट रहेको र उनले कार्यदलका सदस्य तथा पदाधिकारीसँगको भेटमा प्रतिवेदन संशोधन गर्न भनेको दाबी गरिएको छ। बुधबार साँझ महासचिव पोखरेलसँग ओलीले प्रतिवेदनबारे आपत्ति जनाउँदै त्यसलाई परिमार्जन गर्न निर्देशन दिएको एक नेताले बताए।
ओलीनिकट एक पदाधिकारीका अनुसार अध्यक्ष प्रतिवेदनका विषयमा सहमत छैनन्। ‘सिंगो प्रतिवेदनका विषयमा अध्यक्षज्यूको आपत्ति छ, उहाँ सहमत हुनुहुन्न। कसरी अगाडि बढ्ने पनि केही टुंगो छैन,’ ती पदाधिकारीले भने।
ओलीले प्रतिवेदन संशोधन नभएसम्म कार्यदलको बैठक नबोलाउन संयोजक थापालाई निर्देशन दिएको कारण बैठक अनिश्चित बनेको दाबीसमेत केही सदस्यले गरेका छन्। यद्यपि सचिव भानुभक्त ढकालले अध्यक्षले बैठक रोक्न निर्देशन दिएको भन्ने प्रचारलाई अस्वीकार गरेका छन्।
ओलीको कडा प्रतिक्रिया
यसैबीच, अध्यक्ष ओलीले आफूलाई हटाउने अभियानमा लागेका नेताहरूको गतिविधिप्रति सार्वजनिक रूपमै कडा प्रतिक्रिया दिएका छन्।
शनिबार इलामको फिक्कलमा आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको विधि र विधानविपरीत आफूलाई हटाउने प्रयास भइरहेको भन्दै त्यसलाई ‘अनुशासनहीनता’ र ‘अराजकता’ को संज्ञा दिए।
पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही व्यक्तिले अध्यक्ष हटाउने कुरा गरिरहेको भन्दै उनले त्यस्ता गतिविधिमा कुनै दम नरहेको दाबी गरे। आफूलाई हटाउने विषयमा हस्ताक्षर संकलन भइरहेकोप्रति संकेत गर्दै ओलीले यस्ता गतिविधि महाधिवेशनले तोकेको विधि, प्रक्रिया र समयभन्दा बाहिर रहेको बताए।
‘अध्यक्ष हटाउने, कहिले हटाउने हो, हटाइदेऊ न,’ ओलीले भने, ‘कोही हस्ताक्षर गर्दै हिँड्या छन्, अध्यक्ष हटाउने। यसका पछाडि केही दम छैन।’
प्रतिपक्षी तथा विरोधीहरूको तीव्र प्रहार सामना गरिरहेको अवस्थामा पार्टी एकताबद्ध हुनुपर्नेमा आन्तरिक असन्तुष्टि फैलाउने काम भइरहेको ओलीको आरोप थियो।
‘जतिबेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ। सिंगै पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा त्यतिबेलै पार्टीभित्र अध्यक्ष हटाउँछु भन्याछ,’ उनले भने, ‘अहिले यी सबै कुरा बेकारका कुरा हुन्।’
महाधिवेशनले निर्धारण गरेको विधि, प्रक्रिया र समयभन्दा बाहिर गएर नेतृत्व परिवर्तनको प्रयास गर्न नहुने भन्दै ओलीले त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिए।
चुनावपछि पहिलोपटक पूर्वी नेपाल पुगेका ओलीलाई झापाको चन्द्रगढी विमानस्थलमा एमालेका नेता–कार्यकर्ता तथा शुभेच्छुकले स्वागत गरेका थिए। त्यसपछि उनी इलामको फिक्कल पुगेका थिए। महासंघको बैठकलाई सम्बोधन गरेपछि ओलीले इलाम बजारमा जिल्लाका अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।








