काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका ११ जना सचिवालय सदस्य र ९ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट विभिन्न पदाधिकारी तथा पार्टीका विभाग र जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ ।
सभापति लामिछानेले शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन् ।
त्यस्तै भूपदेव शाह, सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भानुभक्त राई केन्द्रीय सदस्य मनोनीत भएका छन् ।
लामिछानेले पुरुषोत्तम यादवलाई सहमहामन्त्री, जगदीश खरेललाई प्रवक्ता र मनोहर प्रधानलाई कोषाध्यक्षको जिम्मेवारीसमेत दिएका छन् ।
तर, रास्वपामा महत्वपूर्ण मानिएका उपसभापति र महामन्त्री पदमा भने शुक्रबार पनि मनोनयन हुन सकेन ।
बालेन समूहको नामको पर्खाइमा दुई पद
रास्वपाभित्र उपसभापति र महामन्त्री पद प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) समूहका लागि छुट्याइएको बताइँदै आएको छ । यी दुई पदमा कसलाई अघि सार्ने भन्ने विषयमा सहमति नजुट्दा मनोनयन रोकिएको नेताहरूको भनाइ छ ।
रास्वपा नेताहरूका अनुसार बालेनले नाम उपलब्ध गराएपछि मात्रै सभापति लामिछानेले ती दुई पदमा निर्णय गर्ने तयारी गरेका छन् ।
उपसभापतिमा सुनिल लम्साललाई अघि सार्ने बालेनको चाहना रहेको बताइए पनि गृहमन्त्रीसमेत रहेका सुधन गुरुङले पनि सो पदमा दाबी गरेका छन् । पछिल्लो समय सभापति लामिछाने र प्रधानमन्त्री शाहसँग मिलेर काम गरेको भन्दै गुरुङले पार्टीमा उपयुक्त जिम्मेवारी दिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीमा भने भूपदेव शाहलाई अघि बढाउने तयारी रहेको बताइएको छ । तर सुदीप ढकाल पनि उक्त पदका दाबेदार छन् ।
शुक्रबार लम्साल, गुरुङ र शाह केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
रास्वपा महामन्त्री विपिन आचार्यले उपसभापति, महामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी रहेको बताए ।
‘बिस्तारै स्टेप बाइ स्टेप गर्दै जाने हो,’ उनले भनेका छन्, ‘अस्ति हामीले वरिष्ठ नेता मनोनीत गर्यौँ, आज सात जना पदाधिकारी गर्यौँ । विभाग प्रमुख, सचिवालय र केन्द्रीय सदस्य गर्यौँ ।’
पदका दाबेदार धेरै भएकाले मनोनयन रोकिएको भन्ने चर्चामा सत्यता नरहेको उनको भनाइ छ । ‘स्वाभाविक प्रक्रियामा अस्ति केही, आज केही, अब फेरि केही मनोनयन हामी गर्दै जान्छौँ,’ आचार्यले भने ।
बालेन बैठकमा अनुपस्थित
वरिष्ठ नेता बालेनका लागि शुक्रबारको बैठक पहिलो केन्द्रीय समिति बैठक हुने अपेक्षा गरिएको थियो । साउन १३ गते उनलाई वरिष्ठ नेता मनोनीत गरिएको थियो । तर बालेन बैठकमा सहभागी भएनन् । उनी शुक्रबार बिहानै स्थलमार्ग हुँदै पोखरा पुगेका थिए ।
बालेनको समूहका लागि छुट्याइएको भनिएका दुई महत्वपूर्ण पदमा पनि बैठकले निर्णय नगरेपछि उनको अनुपस्थितिलाई लिएर विभिन्न अड्कलबाजी भएका छन् । तर महामन्त्री आचार्यले वरिष्ठ नेताका लागि केन्द्रीय समिति बैठकमा उपस्थित हुन बाध्यकारी व्यवस्था नरहेको बताए ।
‘केन्द्रीय समिति सदस्यभन्दा पनि वरिष्ठ नेता आमन्त्रितका रूपमा हुन्छ । उहाँ आउनुपर्ने नआएको भन्ने होइन । केन्द्रीय सदस्यका लागि जसरी बैठकमा उपस्थिति बाध्यकारी हुन्छ, वरिष्ठ नेतालाई त्यो छैन,’ उनले भने ।
पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाउनुको अर्थ
शुक्रबारको मनोनयनमा सबैभन्दा बढी चर्चा पुरुषोत्तम यादवको पदोन्नतिको भएको छ । समानुपातिक सांसदको सूचीमा मधेसी पुरुष क्लस्टरमा पहिलो स्थानमा रहेका डा. नन्दन यादवलाई पछि पार्दै पुरुषोत्तमलाई पहिलो स्थानमा ल्याइएको थियो । त्यसपछि उनी प्रतिनिधिसभा सदस्य बनेका थिए ।
रास्वपाका एक नेताका अनुसार पुरुषोत्तमलाई पहिलो स्थानमा राखिए मात्रै सांसद बन्ने सम्भावना भएकाले त्यतिबेला सूची हेरफेर गरिएको थियो ।
रास्वपाको पहिलो महाधिवेशनमा पुरुषोत्तम केन्द्रीय सदस्यमा उठ्ने तयारीमा रहेको भए पनि पछि पार्टी नेतृत्वसँग भएको समझदारीका कारण उनले उम्मेदवारी नदिएको बताइन्छ । शुक्रबार भने उनलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ ।
यससँगै महाधिवेशनबाट आएको संरचनामा मधेसबाट पदाधिकारी बन्ने उनी पहिलो नेता बनेका छन् ।
मधेसमा रविको ‘विश्वासपात्र’ बन्ने प्रयास?
पुरुषोत्तम यादव जेनजी आन्दोलनका सुरुवातकर्तामध्ये एक मानिन्छन् । रास्वपामा रहेका मधेसका अन्य नेताहरूलाई पछि पार्दै उनले महत्वपूर्ण संगठनात्मक जिम्मेवारी पाएपछि उनको राजनीतिक उचाइ तीव्र गतिमा बढेको देखिन्छ ।
रास्वपाका नेताहरूका अनुसार सभापति लामिछाने मधेसमा आफ्नो विश्वासपात्र नेताको खोजीमा थिए । पुरुषोत्तमसँगको निकटतासँगै मधेसमा उनलाई अघि बढाउने तयारी भएको उनीहरूको विश्लेषण छ ।
यसअघि मधेसमा रास्वपाको प्रभावशाली नेताका रूपमा पूर्वप्रवक्ता मनिष झालाई हेरिँदै आएको थियो । तर पहिलो महाधिवेशनमा झा महामन्त्रीमा पराजित भएपछि उनको संगठनात्मक यात्रामा धक्का लागेको थियो । चुनावको टिकट वितरणका क्रममा रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंहसमेत महाधिवेशनमा सहभागी भएनन् र हालसम्म केन्द्रीय सदस्यसमेत बनेका छैनन् । शुक्रबारको निर्णयसँगै पदाधिकारीको हैसियतमा पुरुषोत्तम यादव मनिष झाभन्दा माथि पुगेका छन् ।
मधेसको संगठनमा नयाँ शक्ति समीकरण
रास्वपाभित्र पुरुषोत्तमलाई अघि बढाउनुको अर्को कारण मधेसमा पार्टी संगठनलाई नयाँ ढंगले सञ्चालन गर्नु पनि रहेको चर्चा छ ।
मधेस प्रदेशमा पार्टीको अधिवेशन हुन बाँकी छ भने पर्साबाहेक अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन हुन सकेको छैन । कतिपय पालिका र वडा तहमा समेत विवादका कारण अधिवेशन हुन बाँकी छ ।
रास्वपा सभापति लामिछानेले मधेसका विभिन्न जिल्लाको भ्रमण गर्ने तयारी गरिरहेका छन् । सहमहामन्त्री बनेका पुरुषोत्तम पनि ती भ्रमणमा सभापतिसँगै सक्रिय हुने सम्भावना छ ।
रास्वपाका एक नेताका अनुसार पुरुषोत्तमले मधेस सभापतिका लागि धनुषा–२ का रामविनोद यादवलाई अघि सार्ने तयारी गरेका छन् ।
यस्तै, मधेसमा हाल पार्टी सभापति तपेश्वर यादवको नेतृत्वप्रति असन्तुष्टि रहेको दाबीसमेत केही नेताले गरेका छन् । पुरुषोत्तम र तपेश्वर एउटै निर्वाचन क्षेत्र सिरहा–४ का बासिन्दा हुन् ।
मधेसको राजनीतिमा यादव समुदायको उल्लेख्य जनसंख्या रहेको सन्दर्भमा त्यही समुदायका नेतालाई पार्टीको महत्वपूर्ण पदमा अघि सारिनुलाई पनि रास्वपाभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।
आठ महिनामै राजनीतिक फड्को
रास्वपामा प्रवेश गरेको करिब आठ महिनामै पुरुषोत्तम यादवले पार्टीभित्र महत्वपूर्ण राजनीतिक जिम्मेवारी पाएका छन् । उनले इन्जिनियरिङ अध्ययन गरेका छन् भने आमसञ्चार तथा पत्रकारितामा स्नातक र भारतबाट एमबीए गरेका छन् ।
रास्वपाले असार ७ देखि १२ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गरेको थियो । महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पनि प्रत्यक्ष निर्वाचनबाट चुनिएका थिए ।
रास्वपाको विधानअनुसार केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । सभापतिलाई १२ जना पदाधिकारी र ५१ जना सदस्य मनोनीत गर्ने अधिकार छ ।
महामन्त्री आचार्यले यही व्यवस्थाअनुसार बाँकी पदमा पनि क्रमशः मनोनयन गरिने बताएका छन् ।
यसरी शुक्रबारको बैठकले पार्टीको संगठन विस्तार र जिम्मेवारी बाँडफाँटमा महत्वपूर्ण निर्णय गरे पनि उपसभापति र महामन्त्रीजस्ता दुई महत्वपूर्ण पद खाली रहनुले रास्वपाभित्रको आन्तरिक शक्ति समीकरण अझै पूर्ण रूपमा टुंगिनसकेको संकेत गरेको छ ।









