काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनसँग जोडिएको वर्षौं पुरानो बञ्चरेडाँडा विवाद फेरि बल्झिएको छ। फोहोर व्यवस्थापनबारे छलफल गर्न शुक्रबार सहरी विकास मन्त्रालयमा आयोजित बैठक सांसद र स्थानीय तहका प्रमुखबीच चर्काचर्की भएपछि बिनानिष्कर्ष टुंगिएको छ।
बञ्चरेडाँडा धादिङको क्षेत्र नम्बर १ मा पर्छ। त्यहाँको फोहोर व्यवस्थापनसँग जोडिएका समस्या समाधानको माग गर्दै स्थानीय तहका प्रतिनिधि र प्रभावित क्षेत्रका सरोकारवालाबीच छलफलका लागि मन्त्रालयले बैठक बोलाएको थियो।
बैठकमा काठमाडौं, ललितपुर, टोखा लगायतका स्थानीय तहका करिब ८–९ जना प्रमुख सहभागी थिए। छलफलका क्रममा धादिङ–१ की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच भनाभन भएपछि उनी बैठकबाट बाहिरिएकी थिइन्।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बैठकमा वास्तवमा के भएको थियो भन्ने विषयमा चासो बढेको छ।
‘स्थानीयको अवस्था भयावह छ’
सांसद तामाङका अनुसार बञ्चरेडाँडा क्षेत्रका स्थानीयको समस्या सुनेपछि सहरी विकास मन्त्रालयसँग समन्वय गरेर छलफल आयोजना गरिएको थियो।
उनले बञ्चरेडाँडाका बासिन्दा फोहोरको दुर्गन्ध, झिँगा र प्रदूषणका कारण गम्भीर समस्यामा परेको दाबी गरिन्।
‘त्यहाँ स्थानीयहरूको घरमा एक पाउभन्दा ठूला झिँगाहरू देखिन्छन्। फोहोरको दुर्गन्धले नाक थुनेर बस्नुपर्ने अवस्था छ,’ उनले भनिन्।
उनका अनुसार छलफलका लागि उपत्यकाका सबै स्थानीय तहका प्रमुखलाई बोलाइएको थियो। तर सबै प्रमुख उपस्थित भएनन्। उपस्थित केही मेयरले आफ्ना धारणा राखेर बैठकबाट बाहिरिन थालेपछि आफूले बैठक निष्कर्षमा नपुग्दै नछोड्न आग्रह गरेको उनले बताइन्।
‘यति महत्वपूर्ण छलफल निष्कर्षमा नपुग्दै उठेर हिँड्न थालेपछि त्यस्तो नगर्न आग्रह गरेकी हुँ,’ उनले भनिन्, ‘बञ्चरेडाँडाका स्थानीयहरूको स्वास्थ्य अवस्था गम्भीर छ। यसमा समय दिएर कुराकानी गरौँ। म पनि आज महत्वपूर्ण कार्यक्रम छोडेर आएको हुँ भनेकी हुँ।’
आफ्नो बोल्ने शैलीलाई लिएर पनि विवाद भएको उनको भनाइ छ। ‘मेरो स्वर नै यस्तो छ। सामान्य बोल्दा पनि चर्किएको जस्तो देखिन्छ,’ उनले भनिन्।
२०७९ का सम्झौता कार्यान्वयन नभएको गुनासो
तामाङले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग २०७९ सालमा भएका विभिन्न सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको दाबी गरेकी छन्।
उनका अनुसार फोहोरको स्रोतमा वर्गीकरण नगर्ने, फोहोरबाट निस्कने दुर्गन्धित लिचेटलाई आवश्यक प्रशोधन वा फिल्टर नगरी खोलामा मिसाउने तथा प्रभावित क्षेत्रका सडक र अन्य पूर्वाधार निर्माणमा पर्याप्त ध्यान नदिने अवस्थाले बञ्चरेडाँडा आसपासका बासिन्दाको जनजीवन प्रभावित भएको छ।
यिनै विषयमा कुरा राख्ने क्रममा स्थानीय तहका प्रमुखसँग भनाभन भएपछि आफू बैठकबाट बाहिरिएको उनले बताइन्।
तामाङले आफू प्रभावित समुदायको समस्या उठाउन निरन्तर अग्रसर रहने बताउँदै कसैको दबाब वा हेपाइ स्वीकार नगर्ने धारणा राखेकी छन्।
‘बीचमा बोलेपछि अन्य मेयरले विरोध गरे’
ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले भने बैठकमा सांसद तामाङले बीचमा बोलेपछि विवाद सुरु भएको बताएका छन्।
‘काठमाडौं उपत्यका मेयर फोरमको अध्यक्षको हैसियतले म पनि थिएँ, साथसाथै ८/९ जना मेयरसाप हुनुहुन्थ्यो,’ महर्जनले भने, ‘म बोलिरहँदा सांसद आशिका तामाङ बीचमा बोलेपछि अन्य मेयरहरूले बीचमा किन बोलेको भन्दै विरोध गरेका थिए। त्यसपछि अन्य मेयरहरूसँग भनाभन भएपछि बैठक छोडेर हिँड्नुभयो।’
महर्जनले तामाङसँग आफूहरूको यसअघि भेट नभएको र शुक्रबार पहिलोपटक कार्यक्रममा प्रत्यक्ष भेट भएको बताए। उनले उनको प्रस्तुति आफूलाई ‘आक्रामक’ लागेको टिप्पणी गरे।
यद्यपि बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको समस्या छिटो समाधान होस् भन्ने आफूहरूको पनि चाहना रहेको उनले बताए।
‘माहोल बिग्रिएकाले बिनानिष्कर्ष नै छलफल सकिएको छ,’ महर्जनले भने।
समस्या उस्तै, विवाद फेरि उस्तै
बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको लामो समय भइसके पनि प्रभावित क्षेत्रका स्थानीयले दुर्गन्ध, लिचेट, सडक, स्वास्थ्य तथा वातावरणीय प्रभावलगायतका समस्या उठाउँदै आएका छन्।
फोहोर व्यवस्थापनका लागि स्थानीय तह र प्रभावित क्षेत्रबीच पटक–पटक सहमति तथा सम्झौता हुँदै आए पनि तिनको कार्यान्वयनलाई लिएर विवाद हुने गरेको छ।
यसपटक पनि समस्या समाधानका लागि बोलाइएको छलफल नै जनप्रतिनिधिबीचको विवादमा अल्झिएपछि बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान फेरि अनिश्चित बनेको छ।
प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य र वातावरणीय समस्या, काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगोपन तथा स्थानीय तह र संघीय सरकारबीच भएका पुराना सहमतिको कार्यान्वयन अब कसरी अघि बढ्छ भन्ने प्रश्न पुनः उठेको छ।









