७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

विगत ३५ वर्षको हिसाब होइन, अबको ३५ वर्षको योजना ल्याउनुस् : रवि लामिछाने



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाब माग्दै हिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतको हिसाबकिताब खोज्नुभन्दा आगामी ३५ वर्षका लागि स्पष्ट कार्ययोजना बनाउनुपर्ने बताए।

उनले विगतमा पुराना दल र नेताहरूलाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब रास्वपासँग त्यस्तो सुविधा नरहेको बताए। विगतका असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गर्नुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए। कयौँ नेताहरू पनि थिए। जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ,’ उनले भने, ‘आज कसलाई दोष देखाउने? अब हामीले दोष देखाउने कुनै कुरा छैन।’

लामिछानेले अब बितेको ३५ वर्षको हिसाब माग्नेभन्दा आगामी ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने योजना प्रस्तुत गर्नुपर्ने बताए।

‘अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो। ३५ वर्षको योजना ल्याउनुहोस्। अब बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यवाद। तर अबको ३५ वर्षमा कस्तो बनाउने, हाम्रै हातमा छ नि,’ उनले भने।

उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामको समेत सम्मान गर्दै धन्यवाद दिनुपर्ने बताए। विगतका कमजोरीमा मात्रै केन्द्रित नभई त्यसबाट सिकेर आगामी पुस्ताका लागि नयाँ राजनीतिक र विकासको दृष्टिकोण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  १० : ३४ बजे