१३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026

भोटेकोशी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय सहायता, एडीबीदेखि यूएईसम्मको सहयोग घोषणा



काठमाडौं । रसुवामा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि नेपाललाई देश–विदेशबाट राहत तथा पुनःस्थापनाका लागि सहायता आउन थालेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार हालसम्म विभिन्न दातृराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायले आर्थिक, प्राविधिक तथा अत्यावश्यक सामग्री सहयोगको घोषणा गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार एसियाली विकास बैंक (एडीबी) ले ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । यद्यपि उक्त सहयोगका लागि एडीबी बोर्डको औपचारिक निर्णय हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ । नेपाल सरकारले औपचारिक अनुरोध गर्नासाथ उक्त रकम उपलब्ध गराउने तयारी विश्व बैंकले गरेको अर्थ मन्त्रालयको भनाइ छ ।

अमेरिका र अस्ट्रेलियाबाट नगद सहयोग

बाढीपीडितका लागि संयुक्त राज्य अमेरिकाले ५ लाख अमेरिकी डलर र अस्ट्रेलियाले १० लाख अमेरिकी डलर नगद सहयोग घोषणा गरेका छन् ।

यसैगरी एडीबीबाट १ लाख ५० हजार अमेरिकी डलरबराबरको प्राविधिक सहायता समेत उपलब्ध हुने अर्थ मन्त्रालयले जनाएको छ ।

चीनबाट बेलिब्रिजसहित अत्यावश्यक सामग्री

बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना तथा तत्कालीन आवश्यकताका लागि चीन र अमेरिकाबाट विभिन्न वस्तु तथा सेवा नेपाल आउँदैछन् ।

चीनले ३० वटा बेलिब्रिज नेपाल पठाउने तयारी गरेको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ । बाढीका कारण सडक तथा पुल संरचनामा क्षति पुगेका क्षेत्रमा आवागमन पुनःस्थापित गर्न बेलिब्रिज उपयोगी हुने अपेक्षा गरिएको छ ।

यस्तै, चीन र अमेरिकाबाट अत्यावश्यक राहत सामग्री तथा सेवा शनिबार नै नेपाल आइपुग्ने जनाइएको छ ।

स्विट्जरल्यान्डबाट १० लाख स्विस फ्रांक

स्विट्जरल्यान्डले नेपाललाई १० लाख स्विस फ्रांक सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम संयुक्त राष्ट्रसंघीय निकायमार्फत व्यवस्थापन तथा परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

भारतबाट तीन खेपमा राहत सामग्री

छिमेकी भारतले पनि बाढी प्रभावितका लागि राहत सामग्री नेपाल पठाइसकेको छ । भारतबाट तीन खेपमा राहत सामग्री नेपाल आइपुगेको अर्थ मन्त्रालयले जनाएको छ । भारतीय वायुसेनाका विमानले ती सामग्री नेपाल ल्याएका थिए ।

बाढी तथा पहिरोबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतले २ हजार शव राख्ने ब्याग समेत नेपाल ल्याइसकेको जनाइएको छ ।

यूएईबाट १ करोड डलर सहयोगको घोषणा

यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ करोड अमेरिकी डलर सहयोग गर्ने त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उक्त सहयोगको विस्तृत कार्यविधि र परिचालनबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ ।

रसुवा तथा आसपासका क्षेत्रमा बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना, निजी तथा सार्वजनिक संरचना र अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुट्न थालेको हो ।

सरकारले प्राप्त हुने सहयोगलाई तत्कालीन उद्धार तथा राहतसँगै क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माण र पुनःस्थापनामा परिचालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ६ : ४३ बजे