रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत दिइएको जानकारी अनुसार स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम सो कोषमा जम्मा भएको हो ।
प्रधानमन्त्री शाहका अनुसार सोमबार दिउँसोसम्म राष्ट्रिय वाणिज्य बैंकसहित ९ वटा वाणिज्य बैंकका खाताहरूमा कुल ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ सङ्कलन भइसकेको छ ।
यसैगरी, वैदेशिक सहयोग स्वरूप हिमालयन र लक्ष्मी बैंकमा खोलिएका खाताहरूमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । नेपाल राष्ट्र बैंकको सोमबारको विदेशी विनिमय दर अनुसार उक्त डलरको मूल्य करिब ४८ करोड ६३ लाख ६२ हजार ८० नेपाली रुपैयाँ हुन आउँछ ।
नेपाली रुपैयाँ र अमेरिकी डलरको कुल हिसाब जोड्दा कोषमा हालसम्म ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ । सरकारले उद्धार अनुरोध पोर्टलमार्फत कोषमा प्राप्त भइरहेको रकम र आर्थिक सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ ।







