जापानको फुकुओका सहरमा अध्ययनरत २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको शंकास्पद मृत्यु प्रकरणमा जापानी प्रहरीले तीन जना नेपालीलाई नै पक्राउ गरेको छ ।
झापाको भद्रपुर-७, अन्जनी मोड घर भई फुकुओकाको चुओ वार्डस्थित व्यावसायिक विद्यालयमा अध्ययनरत लक्ष्मीको हत्या अभियोगमा प्रहरीले २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रवीण लामालाई मङ्गलबार नियन्त्रणमा लिएको हो ।
जापानी सञ्चारमाध्यमका अनुसार गत भदौ ३ गते (अगस्ट १९ तारिख) फुकुओकाको नाकागावा नदीमा लक्ष्मीको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको अनुहार र टाउकोमा गम्भीर चोटका निसान थिए ।
अनुसन्धानका क्रममा अगस्ट १९ को मध्यराति ती तीन जना लक्ष्मीको कियोकावास्थित अपार्टमेन्टमा पुगेको र सोही क्रममा विवाद हुँदा खाना पकाउने भाँडोले टाउकोमा पटक-पटक प्रहार गरी घाइते बनाएर बाल्कोनीबाट नदीमा खसालेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
पोस्टमार्टम रिपोर्टमा लक्ष्मीको मृत्युको मुख्य कारण नदीमा डुब्नु देखिएको छ । प्रहरीले उनको अपार्टमेन्टभित्र रगतका दाग र हातहालाहाल भएको प्रमाणसमेत फेला पारेको छ । पक्राउ परेकी सञ्जु तामाङ लक्ष्मीका प्रेमीसँगै बस्ने गरेको र यही त्रिकोणात्मक प्रेम सम्बन्धको विवाद नै घटनाको मुख्य कारण हुनसक्ने आशंकामा जापानी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
सन् २०२३ को मे महिनामा वैदेशिक अध्ययनका लागि जापान पुगेकी लक्ष्मीको यस दुखद निधनले स्थानीय नेपाली समुदाय र गृहनगर झापामा शोक छाएको छ ।








