२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

चिलिमेको सुरुङमा अझै जीवनको आशा



भोटेकोशीको बाढीका कारण क्षति पुगेको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकहरूलाई जीवितै उद्धार गर्न प्राविधिक तथा उद्धार टोलीहरू पावरहाउस क्षेत्रतर्फ अघि बढिरहेका छन् ।

सुरुङभित्र ९० मिटर दूरी पार गरिसकेको टोलीले अब करिब २०० मिटर अगाडि रहेको मुख्य पावरहाउस पुग्ने लक्ष्यका साथ काम तीव्र पारेको छ । ६० मिटर लम्बाइ, २५ मिटर उचाइ र २० मिटर चौडाइ रहेको पावरहाउसको संरचनागत ढाँचा र लेदोसहितको पानीको तह विश्लेषण गर्दा माथिल्लो भागमा दुईदेखि आठ मिटरसम्म सुख्खा र खुला सुरक्षित स्थान रहेको प्राविधिकहरूको आकलन छ ।

प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार पावरहाउसको माथिल्लो भागमा भान्सा, खाद्यान्न, खानेपानी र पर्याप्त प्रकाश दिने ब्याट्री बैंक रहेकाले श्रमिकहरू त्यहाँसम्म पुग्न सफल भएको भए सुरक्षित रहने बलियो आधार छ ।

सुरुङभित्र पर्याप्त पानी उपलब्ध भएको, न्यूनतम शारीरिक गतिविधि गरी ऊर्जा बचत गर्न सकिने र खाद्यान्नसमेत रहेकाले मानिसहरू लामो समयसम्म जीवितै रहन सक्ने सम्भावना छ । यद्यपि, सुरुङभित्रको अक्सिजनको मात्रा र कार्बन डाइअक्साइडको अवस्थाले मानिसको स्वास्थ्य र जीवित रहने समय निर्धारण गर्ने भएकाले उद्धारलाई अति तीव्र बनाइएको छ ।

उद्धारस्थलमा भोलि (बुधबार) सम्म एक्स्काभेटर पुर्‍याउने गरी पहुँचमार्ग निर्माण भइरहेको छ र हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको छ । सुरुङको डिजाइन र ड्रइङको प्राविधिक अध्ययनका आधारमा पावरहाउसको माथिल्लो भाग सुरक्षित रहेको निष्कर्ष निकालिएकाले सम्पूर्ण टोली सफल र जीवित उद्धारको प्रतीक्षामा खटिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १० : २० बजे