२४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026

अदालतबाट न्याय पाउनेमा देउवा विश्वस्त



नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफूलाई न्याय दिने दर्हो विश्वास व्यक्त गरेका छन् ।

१३३औं बीपी जयन्तीको अवसरमा कांग्रेस भक्तपुरद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनरावलोकनको निस्सा दिइसकेकाले आफूहरूको आधाभन्दा बढी विजय भइसकेको दाबी गरे ।

विपक्षी पक्षले अनेक प्रयास गरे पनि पार्टीको आधिकारिक नाम, रुख चिह्न र चारतारे झण्डा आफूहरूकै पक्षमा आउने देउवाको ठहर छ । विगतमा पञ्चायतकाल र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको समयमा समेत सर्वोच्च अदालतले नै आफूलाई न्याय दिलाएको स्मरण गर्दै उनले अदालतप्रति पूर्ण निष्ठा रहेको बताए ।

नेता गगन थापाले प्रतिनिधिको कुनै सनाखत नगरी खल्तीबाट नाम राखेर विशेष अधिवेशन बोलाएको आरोप लगाउँदै देउवाले तत्कालीन कार्यवाहक निर्वाचन आयुक्तले ज्यानको खतरा महसुस गरेर त्रासका बीच निर्णय दिएको दाबी गरे ।

सोही कार्यक्रममा बोल्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकका प्रमुख राजनीतिक दलहरूभित्र आन्तरिक एकता दिनानुदिन कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।

संविधान निर्माण र लोकतान्त्रिक परिवर्तनमा अग्रणी भूमिका खेलेका दलहरूको कमजोर आन्तरिक संगठनले मुलुकको स्वाधीनता र समृद्धिमा चुनौती थपेको उनको भनाइ थियो ।

नेता सिटौलाले गत वर्षको जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमको फाइदा उठाउँदै एउटा पक्षले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गरेको आरोपसमेत लगाए । नेतृत्व र पार्टी केही समय निष्क्रिय भएको मौका छापेर पार्टी कब्जा गरिए पनि अव १५औं महाधिवेशनको तयारीमार्फत सम्पूर्ण पार्टीलाई पुनः एकताबद्ध बनाउने जिम्मेवारी आफूहरूकै काँधमा रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ९ : ३७ बजे