२४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026

चिलिमेमा फसेका कर्मचारीको उद्धारका लागि तीव्रता, कुलमान घिसिङ पनि खटिए



भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ६ जना कर्मचारी तथा मजदूरको उद्धारका लागि नेपाली तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले तीव्र रूपमा खोज तथा उद्धारको प्रयास गरिरहेको छ ।

आयोजनाको जलविद्युत् गृहभित्र जमेको लेदो फाल्ने कामलाई प्राथमिकतामा राख्दै जनशक्ति थपेर द्रुत गतिमा सफाइ भइरहेको कम्पनीले जनाएको छ ।

उद्धार कार्यलाई थप सहज र प्रभावकारी बनाउन स्याफ्रुवेसीदेखि चिलिमे विद्युत्‌गृह पोर्टलसम्मको अवरुद्ध सडक पुनर्निर्माण चौबिसै घण्टा जारी राखिएको छ । यसका लागि थप अपरेटर, मेसिन र स्पेयर पार्टसको व्यवस्था हुनुका साथै आवश्यक परेको स्थानमा विष्फोटक पदार्थ प्रयोग गरी पहरा फुटाउन विष्फोटक सामग्रीसहितको विशेष टोली तैनाथ राखिएको छ ।

विद्युत् आपूर्ति पुन:स्थापनाका लागि ड्रोनको प्रयोग गरी धुन्चेतर्फको बिजुली चिलिमेको विद्युत्‌गृहसम्म पुर्‍याउन पाइलट वायर जोडिसकिएको छ भने धुन्चेको एबीसी केबुललाई स्याफ्रुसम्म पुर्‍याउन हेलिकप्टरमार्फत ढुवानीको प्रबन्ध मिलाइएको छ ।

अहिले उद्धार टोली सुरुङ छिचोलेर विद्युत्‌गृहभित्र प्रवेश गर्ने अन्तिम प्रयासमा छ । यस उद्धार कार्यको प्रत्यक्ष कमान्ड र सहजीकरणका लागि नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङ स्वयं घटनास्थलमा खटिएका छन् ।

हाल टोली विद्युत्‌गृहभन्दा करिब दुई सय मिटर मात्र टाढा रहेको र ६० मिटर लम्बाइ, २५ मिटर उचाइ तथा २० मिटर चौडाइ रहेको उक्त विद्युत्‌गृहको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया र पर्याप्त बत्तीका लागि ठूलो ब्याट्री बैंकजस्ता अत्यावश्यक खाद्य तथा जीवनरक्षक सामग्री भण्डार रहेकाले फसेका मानिसहरू सुरक्षित रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ९ : ३९ बजे