काठमाडौं । देशका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भएपछि बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। सम्भावित विपद्लाई ध्यानमा राख्दै कतिपय जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरमा शनिबारका लागि तय गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मिति समेत सारिएको छ। जिल्ला निर्वाचन अधिकृत अधिवक्ता राजकुमार उप्रेतीका अनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १३ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते हुनेछ।
वर्षाका कारण दाङ जिल्लाभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै अर्को आदेश नभएसम्म सवारी सञ्चालन रोकिएको जनाएको छ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुरदेखि सल्यानको कपुरकोटसम्म पनि असोज ११ गते बेलुकासम्म सवारी आवागमन रोकिएको छ।
पूर्वी नवलपरासीमा नारायणी नदीको जलस्तर बढेपछि त्रिवेणीधामस्थित गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिएका छन्। बिहीबार साँझ ७३ हजार क्युसेक रहेको पानीको बहाव शुक्रबार राति ९ बजे १ लाख ८८ हजार क्युसेक पुगेको थियो। देवघाटमा पनि पानीको सतह ६ दशमलव ८९ मिटर पुगेको छ, जहाँ ७ दशमलव ३ मिटरलाई चेतावनी तह मानिन्छ।
नारायणी नदीमा आएको बाढीका कारण नवलपरासीको सुस्तास्थित सशस्त्र प्रहरीको ब्यारेकसमेत डुबानमा परेको छ। त्यहाँ बस्दै आएका ३५ जना सुरक्षाकर्मीका चारवटै भवन डुबानमा परेका छन्। बाढीका कारण सुस्ताका ४० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने २४ परिवारलाई होल्डिङ सेन्टरमा राखिएको छ।
रुपन्देहीमा तिनाउ नदीले सतर्कताको तह पार गरेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। बुटवलस्थित तिनाउ पुलमुनि बस्दै आएका २० जनालाई कान्ति माध्यमिक विद्यालयमा सारिएको छ। मजुवा, बुद्धनगर, देवीनगर र रानीगन्जलगायत तटीय बस्तीमा जोखिम बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बझाङमा भारीदेखि धेरै भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै जिल्लाभरि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्म सवारीसाधन सञ्चालन बन्द रहने जनाएको छ।
काभ्रेको बेथानचोक गाउँपालिकाले सम्भावित बाढी तथा पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा राख्न छवटै वडामा होल्डिङ सेन्टर तयार गरेको छ। तत्कालै स्थानान्तरणको अवस्था नरहे पनि जोखिम महसुस गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान गाउँपालिकाले आग्रह गरेको छ।
मधेशका विभिन्न जिल्लामा हावाहुरी र वर्षाका कारण उखु खेतीमा समेत क्षति पुगेको छ। सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवले करिब चार लाख रुपैयाँ लगानी गरेर दुई बिघाभन्दा बढी क्षेत्रमा लगाएको उखु हावाहुरी र वर्षाका कारण ढलेको बताएका छन्।
रामेछापमा ४८ घण्टाभन्दा लामो समयदेखि निरन्तर वर्षा भइरहेकाले नदी तथा खोला किनार र पहिरोको जोखिमयुक्त बस्तीमा जोखिम बढेको छ। जिल्ला सुरक्षा समितिका अनुसार वर्षा थप बढेमा जिल्लाका ४ हजार ५ सयभन्दा बढी घरधुरीका करिब १५ हजार ५ सय मानिस प्रभावित हुन सक्ने आकलन गरिएको छ। प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरे गोलफानमा पहिरोले घर बगाउँदा ५९ वर्षीया कृष्णकुमारी सारु बेपत्ता भएकी छन्। पहिरोमा दुई घरमा पूर्ण क्षति पुगेको छ। घरभन्दा माथिबाट बनेको नयाँ मोटरबाटोबाट पहिरो झरेको प्रहरीले जनाएको छ।
यता सप्तकोशीमा पनि जलस्तर निरन्तर बढिरहेको छ। शुक्रबार साँझ ६:१५ बजेको मापनअनुसार कोशी ब्यारेज हुँदै प्रतिसेकेन्ड २ लाख ७० हजार ७ सय ४० क्युसेक पानीको बहाव रेकर्ड भएको छ। कुल ५६ ढोकामध्ये ३६ वटा खोलिएका छन्। पानीको बहाव बढिरहेका कारण नेपाल र भारतका अधिकारीले कोशी ब्यारेज तथा तटीय क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
लगातारको वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत खावा क्षेत्रमा ढुंगा खस्ने तथा सानातिना पहिरो जान थालेपछि धुलिखेल–दोलालघाट सडकखण्ड शुक्रबार साँझदेखि शनिबार बिहानसम्म बन्द गरिएको छ।
मौसम पूर्वानुमानअनुसार असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण नदी तथा खोलाको जलस्तर बढ्नुका साथै पहिरो र डुबानको जोखिमसमेत बढेकाले सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।









