११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

कालीगण्डकीमा ३० वर्षयताकै भीषण बाढी



चार दिनदेखि परेको अविरल भीषण वर्षाका कारण कालीगण्डकी नदी तटीय क्षेत्रमा ३० वर्षयताकै ठूलो बाढी आएको छ। बिहीबार साँझदेखि सुरू भई शनिबारदेखि झनै उग्र बनेको वर्षाका कारण आएको बाढीले म्याग्दीदेखि पूर्वी नवलपरासीसम्मका बस्ती, सडक र पुलहरूमा ठूलो क्षति पुर्‍याएको छ।

म्याग्दीबाट सुरू भएको क्षतिको शृंखला नदीको बहावसँगै तलतिर फैलिँदै जाँदा दर्जनौँ बस्तीहरू डुबानमा परेका छन् भने कालीगण्डकी करिडोरसहितका मुख्य सडकहरू क्षतविक्षत बनेका छन्।

बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीमा सबैभन्दा ठूलो विपत्ति निम्त्याएको छ। शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि ८० घरमध्ये ६६ वटा घर बाढीले बगाएको प्रहरीले जनाएको छ। बाँकी रहेका घरहरू पनि जोखिममा परेका छन्।

यस्तै, पोखरा–बागलुङ सडक खण्डमा पर्ने ऐतिहासिक मालढुंगा मोटरेबल पुलको पर्वततर्फको मुख्य जगनजिकै निरन्तर पहिरो खसेपछि बागलुङ र पर्वत जोड्ने यो सञ्जालमा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।

म्याग्दी सदरमुकाम बेनीको थाक्ने बगर बस्ती डुबानमा परेको छ भने बेनी बजार संरक्षणका लागि बनाइएको पक्की तटबन्ध भत्किएको छ। अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र भूरूङ–तातोपानी जोड्ने पुल बाढीले बगाएको छ। बेनी–जोमसोम सडक खण्ड क्षतविक्षत भएपछि मुस्ताङसँगको सडक सम्पर्क विच्छेद भएको छ।

स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल प्रसिद्ध धार्मिक क्षेत्र सेतीबेणी बजारका ५० घर र पवित्र शालिग्राम शिला डुबानमा परेका छन्। बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने पक्की पुल जगैदेखि बगाइदिएको छ। पुल बगेसँगै १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको क्षेत्र जोखिममा पर्नुका साथै आयोजनाको विद्युत् उत्पादन शुक्रबार रातिदेखि नै पूर्ण रूपमा बन्द छ।

पाल्पाको ऐतिहासिक रानीमहल दरबार र आसपासका होटल तथा संरचनाहरू बाढीमा डुबेका छन्। गुल्मीको धार्मिकस्थल रिडी, ऋषिकेश मन्दिर क्षेत्र, पाल्पा–गुल्मी–स्याङ्जा जोड्ने तीनमुखे पुल तथा तानसेनको कालीगण्डकी लिफ्ट खानेपानी आयोजनामा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ।

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) र तनहुँ जोड्ने कालीगण्डकीमाथिको मोटरेबल पुलको पहुँचमार्ग बगेपछि डेढगाउँ र घिरिङ गाउँपालिकाबीचको सडक सम्पर्क टुटेको छ।

नारायणी नदीमा बाढी उर्लिंदा चितवनको भरतपुर-१७ र २८ तथा गैँडाकोटको बोटे टोलका ११० घर डुबानमा परेका छन्। पश्चिम नवलपरासीको सुस्ता गाउँ पूर्ण रूपमा डुबानमा परेको छ।

नेपाल-भारत सीमामा रहेको गण्डक ब्यारेजमा पानीको बहाव खतराको मानिने ४ लाख क्युसेक नाघेर प्रतिसेकेन्ड ४ लाख ७९ हजार १०० क्युसेक पुगेको छ भने माथिल्लो तट देवघाटमा बहाव ६ लाख ५२ हजार क्युसेक मापन गरिएको छ। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेका छन्।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ११ : ०९ बजे