१६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026

कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदै, तयारी अन्तिम चरणमा



काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुने भएको छ। देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसबाट सिर्जित प्राकृतिक विपद्का कारण पूर्वनिर्धारित असोज १६ गतेको कार्यक्रम दुई दिन पछाडि सारिएको हो। महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिले जनाएको छ। समिति संयोजक एवं प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै खुलामञ्चमा मञ्च निर्माण तथा बन्द सत्रका लागि विभिन्न हलको व्यवस्थापन तीव्र पारिएको जानकारी दिएका छन्।

हालैको प्राकृतिक प्रकोपमा परी ठूलो जनधनको क्षति भएको र दर्जनौँ नागरिकले ज्यान गुमाएको परिवेशलाई मध्यनजर गर्दै पार्टीले यसपटक महाधिवेशनमा कुनै पनि भड्किलो प्रचारप्रसार नगर्ने निर्णय गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी-पहिरोमा परी हजारौँ मानिस प्रभावित भएको, सयौँ घरपरिवार बिछोडिएको र बालबालिका टुहुरा भएको पीडादायी परिस्थितिमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रमस्थलमा एउटा मूल गेटबाहेक सहर–बजारमा कुनै पनि प्रचार सामग्री नटाँगिने र त्यसको साटो काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरहरूमा रहेका करिब एक सय डिजिटल बोर्डमार्फत सूचना प्रवाह गरिनेछ। पार्टीले उम्मेदवारहरूलाई समेत डिजिटल माध्यमबाट मात्र प्रचारप्रसार गर्न आग्रह गरेको छ।

महाधिवेशनमा देशभरि तथा विदेशबाट गरी ७ हजार ७ सयभन्दा बढी निर्वाचित प्रतिनिधिहरू सहभागी हुँदै छन्। केन्द्रीय निर्वाचन समितिले तयार पारेको कार्यतालिका अनुसार असोज १८ गते खुलामञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन हुनेछ भने असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ। त्यसैगरी असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। प्रतिनिधिहरूको बसोबासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलङ्की र नयाँ बसपार्क क्षेत्रमा प्रबन्ध मिलाइएको छ। आवास र यातायातको खर्च सहभागी स्वयम्‌‌ले व्यहोर्नेछन् भने भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र श्रम संस्कृति पार्टीका महासचिव आरेन राईको सहभागिता निश्चित भइसकेको छ। अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। महाधिवेशनस्थलमै प्राथमिक स्वास्थ्य उपचार केन्द्र र मिडिया सेन्टर स्थापना गरिनेछ, जहाँबाट अवधिभर हरेक दिन पत्रकार सम्मेलन आयोजना गरिने जनाइएको छ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : ४८ बजे