२० कार्तिक २०८३, बिहिबार | Fri Nov 6 2026

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको संन्यास घोषणा



विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। पोर्चुगलका लागि २३ वर्ष लामो ऐतिहासिक यात्रा पूरा गर्दै ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय सार्वजनिक गरेका हुन्।

इन्स्टाग्राममा एक भावुक भिडियो सन्देश पोस्ट गर्दै रोनाल्डोले पोर्चुगलको प्रतिष्ठित ७ नम्बरको जर्सी अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्। ‘आज हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ। यो जर्सी कहिल्यै मेरो मात्र थिएन, तर २३ वर्षसम्म यसलाई लगाउने सौभाग्य र जिम्मेवारी मैले पाएँ,’ रोनाल्डोले भनेका छन्। उनले गोल, उपाधि र कीर्तिमानहरू समयक्रममा तोडिए पनि समर्थकहरूको हृदयमा बनाएको स्थान कहिल्यै नमेटिने उल्लेख गर्दै २३ वर्षे यात्राका लागि विश्वभरका पोर्चुगिज समर्थक, सहकर्मी, प्रशिक्षक र परिवारलाई धन्यवाद व्यक्त गरेका छन्।

सन् २००३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले दुई दशकभन्दा बढी समय पोर्चुगलको अग्रपङ्क्ति सम्हाले। यस अवधिमा उनले पोर्चुगलका लागि २४३ अन्तर्राष्ट्रिय खेल खेल्दै १४६ गोलको कीर्तिमान कायम गरे, जुन अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सर्वाधिक गोलको कीर्तिमान हो। रोनाल्डिकै कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरो) को उपाधि उचालेको थियो भने दुईपटक यूईएफए नेसन्स लिगको उपाधिसमेत जित्न सफल भएको थियो।

रोनाल्डोको यो संन्यासको घोषणा राष्ट्रिय टोलीको पछिल्लो अन्तर्राष्ट्रिय विश्रामका क्रममा प्रशिक्षकसँग भएको भनिएको विवादलगत्तै आएको छ। यस निर्णयसँगै विश्व फुटबलमा दुई दशकभन्दा बढी एकछत्र राज गरेका रोनाल्डोको पोर्चुगिज जर्सीको स्वर्णिम तथा ऐतिहासिक अध्यायको विधिवत् अन्त्य भएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  १० : ५९ बजे