अमेरिकी न्याय मन्त्रालयको नागरिक अधिकार महाशाखाकी प्रमुख तथा सहायक महान्यायाधिवक्ता हरमीत ढिल्लोनले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
फक्स न्युज डिजिटललाई दिएको विशेष अन्तर्वार्तामा उनले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजय हुनुभन्दा तीन साताअघि नै आफूले राजीनामा दिने निर्णय गरेको खुलासा गरेकी छन् । ह्वाइट हाउसकी चिफ अफ स्टाफ सुसी वाइल्सले चुनाव नसकिएसम्म राजीनामा रोक्न आग्रह गरेपछि मात्र उनले आफ्नो प्रस्थान पछाडि सारेकी हुन् ।
ढिल्लोनले नोभेम्बर ५ मा औपचारिक रूपमा राजीनामा पत्र बुझाएकी हुन् । आफूलाई राजीनामा दिन नभनिएको स्पष्ट पार्दै उनले वासिङ्टनमा देशको सेवाका लागि आएको र दुई वर्षको कार्यकालमा आफूले पूरा गर्न चाहेका उद्देश्यहरू सफल भइसकेकाले निजी वकालत पेशामै फर्कने निर्णय लिएको बताएकी छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर २०२४ मा मनोनीत गरेपछि अप्रिल २०२५ मा सिनेटबाट स्वीकृत भई ढिल्लोनले पदभार ग्रहण गरेकी थिइन् । करिब १९ महिनाको कार्यकालमा उनले नागरिक अधिकार महाशाखाको प्राथमिकतामा ठूलो फेरबदल गर्दै धार्मिक स्वतन्त्रता, महिला खेलकुदमा ट्रान्सजेन्डर सहभागिता, दोस्रो संशोधन अधिकार र निर्वाचन निष्ठा जस्ता विषयमा ध्यान केन्द्रित गरेकी थिइन् । उनको कार्यकालमा न्याय मन्त्रालयभित्र व्यापक कर्मचारी हेरफेर भएको थियो भने उनले १३० भन्दा बढी नयाँ वकिलहरू भर्ती गरेको बताएकी छन् ।
महान्यायाधिवक्ता टोड ब्लान्चले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ढिल्लोनको राजीनामा स्वीकृत भएको पुष्टि गर्दै नागरिक स्वतन्त्रताको रक्षा र कानुन कार्यान्वयनमा उनको योगदानको प्रशंसा गरेका छन् । रिपब्लिकन पार्टीकी वरिष्ठ नेता तथा ट्रम्पकी सहयोगी ढिल्लोनले प्रशासनमा प्रवेश गर्नुअघि ढिल्लोन ल ग्रुप र सेन्टर फर अमेरिकन लिबर्टीको स्थापना गरी पहिलो संशोधन र निर्वाचन कानुनसम्बन्धी मुद्दाहरू लड्दै आएकी थिइन् ।









