मुम्बई — बलिउड महानायक अमिताभ बच्चनको मुम्बईस्थित बंगला ‘जलसा’लाई बमले उडाइदिने धम्की फेरि आएको छ। धम्कीपूर्ण सन्देश प्राप्त भएपछि मुम्बई प्रहरी र अन्य सुरक्षा एजेन्सीहरूलाई उच्च सतर्क अवस्थामा राखिएको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार मुम्बईका प्रमुख तथा संवेदनशील स्थलहरू बम्बई स्टक एक्सचेन्ज (बीएसई), वरली रेसकोर्स र बम्बई उच्च अदालतलाई समेत बमले उडाउने धम्की इमेलमार्फत दिइएको छ। इमेल आएलगत्तै मुम्बई प्रहरी, बम डिस्पोजल स्क्वाड र अन्य सुरक्षा टोलीहरूले धम्की दिइएका सबै शंकास्पद स्थानहरूमा व्यापक खोजी अभियान चलाएका थिए। तर, खोजीका क्रममा कुनै पनि शंकास्पद वस्तु वा विस्फोटक पदार्थ फेला नपरेको अधिकारीहरूले जनाएका छन्।
यसअघि गत अक्टोबर २३ मा मुम्बईकी मेयर रितु तावडेलाई पठाइएको धम्कीपूर्ण इमेलमा पनि अमिताभ बच्चन र गायक दिलजित दोसाँझलाई मार्ने तथा बच्चनको बंगला उडाउने चेतावनी दिइएको थियो। उक्त इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ भित्र कुनै पनि समय आक्रमण गरिने र यो १९८४ को ‘अपरेसन ब्लु स्टार’को बदला हुने उल्लेख गर्दै खालिस्तान समर्थक नाराहरू समेत लेखिएका थिए।
घटनापछि प्रहरीको साइबर टोलीले इमेल पठाउने व्यक्तिको आईपी ठेगाना ट्रेस गर्दै थप अनुसन्धान अगाडि बढाएको छ।









