विश्वकै शक्तिशाली प्रविधि कम्पनी एनभिडियाका संस्थापक एवं निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङको यौन जीवन र चिनियाँ जासुसी आशंकासँग जोडिएको पछिल्लो प्रकरणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनलाई गम्भीर राजनीतिक तथा राष्ट्रिय सुरक्षाको दबावमा पारेको छ ।
सिंगापुरस्थित प्रविधि कम्पनी ‘मेगास्पिड’ की पूर्वकार्यकारी एलिस हुआङसँग जेन्सेन हुआङको प्रेम सम्बन्ध रहेको र एलिस चिनियाँ गुप्तचर निकायसँग आबद्ध रहेको अमेरिकी गुप्तचर निकायहरूको आशंका बाहिरिएसँगै यो विषय अब केवल एक व्यवसायीको व्यक्तिगत आचरणमा मात्र सीमित रहेन।
ट्रम्पसँगको असाधारण निकटता र नीतिगत प्रभाव
जेन्सेन हुआङ राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष पहुँच राख्ने थोरै व्यावसायिक व्यक्तित्वहरूमध्ये एक थिए । उनले ट्रम्पसँग पटक–पटक भेटवार्ता गर्नुका साथै बेलायत भ्रमणमा साथ दिएका थिए र गत मे महिनामा राष्ट्रपतिको विशेष विमान ‘एयर फोर्स वन’ मा चढेर चीन भ्रमणसमेत गरेका थिए । ट्रम्प प्रशासनभित्र चीनलाई अमेरिकाको कति अत्याधुनिक प्रविधि बेच्न दिने भन्ने बहसमा हुआङ एक निर्णायक आवाज बनेका थिए । सन् २०२२ देखि अमेरिकाले चीनको सैन्य र प्राविधिक क्षमता बढ्न नदिन एनभिडियाका अत्याधुनिक एआई चिप्सको निर्यातमा कडाइ गर्दै आएको थियो । तर, प्रतिबन्धले चिनियाँ कम्पनीहरूलाई आफ्नै प्रविधि विकास गर्न प्रोत्साहित गर्ने तर्क गर्दै हुआङले ट्रम्पलाई मनाउन सफल भए, जसको परिणामस्वरूप गत वर्ष ट्रम्प प्रशासनले राजस्वको निश्चित हिस्सा लिने सर्तमा केही चिप्स चीनमा पुनः बिक्री गर्न अनुमति दियो । गुप्तचर निकायको नजरमा रहेकी महिलासँग निकट रहेका व्यक्तिले नै अमेरिकी नीतिमा यति ठूलो प्रभाव पार्नुले ह्वाइट हाउसको निर्णय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ ।
वाणिज्य मन्त्रालयको निष्क्रियता र मन्त्रिपरिषद्भित्रको मतभेद
यो प्रकरणले ट्रम्प प्रशासनका वाणिज्यमन्त्री हावर्ड लुटनिकलाई सबैभन्दा बढी विवादमा तानेको छ । संवेदनशील अमेरिकी प्रविधिको निर्यात नियन्त्रण गर्ने जिम्मेवारी पाएको वाणिज्य मन्त्रालयलाई ‘मेगास्पिड’ कम्पनीले सिंगापुर हुँदै अवैध रूपमा चीनमा चिप्स पठाइरहेको र एलिस हुआङसँगको सम्बन्धबारे अत्यन्त गोप्य ‘मेमो’ मार्फत सचेत गराइएको थियो । तर, लुटनिकले उक्त कम्पनीविरुद्ध कारबाही गर्न आनाकानी गरे ।
न्युयोर्क टाइम्सका अनुसार एनभिडियाका कानुनी सल्लाहकारले ट्रम्पद्वारा नियुक्त एक वरिष्ठ अधिकारीको नाम लिँदै हस्तक्षेप गरेपछि वाणिज्य मन्त्रालयले मेगास्पिडमाथिको छानबिन नै रोकेर न्याय मन्त्रालयलाई सुम्पिएको थियो । यस विषयले ट्रम्प प्रशासनभित्रको आन्तरिक कलहलाई पनि सतहमा ल्याएको छ । अर्थमन्त्री स्कट बेसेन्टलगायतका वरिष्ठ अधिकारीहरूले राष्ट्रिय सुरक्षामाथि खतरा पुर्याउने मेगास्पिडलाई किन कालोसूचीमा राखिएन भन्दै लुटनिकसँग प्रश्न उठाएका थिए ।
द्विदलीय दबाव र ह्वाइट हाउसमाथि सोझिएका प्रश्न
आलोचना र विवाद चुलिएपछि जेन्सेन हुआङले एनभिडियाको सिइओ पदबाट राजीनामा दिए पनि ट्रम्प प्रशासनमाथिको राजनीतिक दबाव कम भएको छैन । अमेरिकी संसद् (कंग्रेस) का दुवै दल—डेमोक्र्याट र रिपब्लिकन सांसदहरूले यसबारे जवाफ मागेका छन् । चीनसम्बन्धी हाउस सेलेक्ट कमिटीका रिपब्लिकन अध्यक्ष जोन मुलेनारले अमेरिकी कम्पनीहरूको सफलता आवश्यक भए पनि चिनियाँ फर्महरूलाई अत्याधुनिक चिप्स दिएर राष्ट्रिय सुरक्षा जोखिममा पार्न नहुने चेतावनी दिएका छन् ।
त्यस्तै, सिनेट बैंकिङ कमिटीकी शीर्ष डेमोक्र्याट सिनेटर एलिजाबेथ वारेनले हुआङको राजीनामाले मात्र उनको दायित्व नसकिने भन्दै निर्यात नियन्त्रणका छिद्रहरू किन खुला राखिए भन्नेबारे वाणिज्यमन्त्री लुटनिकले स्पष्ट पार्नुपर्ने माग गरेकी छन् । उता, हुआङ कंग्रेसको बन्द कोठामा हुने सुनुवाइमा बयान दिन तयार भएका छन् ।
ह्वाइट हाउसले वाणिज्यमन्त्री लुटनिकलाई ‘आधुनिक इतिहासकै सबैभन्दा रूपान्तरणकारी वाणिज्यमन्त्री’ भन्दै ट्रम्पको पूर्ण विश्वास रहेको दाबी गरेको छ । तर, ट्रम्प स्वयंलाई गुप्तचर निकायका चिन्ताहरूबारे पहिल्यै ब्रिफिङ गरिएको रिपोर्ट बाहिरिएपछि यो संकट कुनै एक व्यवसायी वा मन्त्रालयको कमजोरीमा मात्र सीमित रहेन । राष्ट्रपतिलाई सबै कुरा थाहा हुँदाहुँदै पनि किन कडा कदम चालिएन र अमेरिकाको सबैभन्दा संवेदनशील प्रविधिको सुरक्षा गर्ने अन्तिम जिम्मेवारी कसको हो भन्ने प्रश्नले यतिबेला राष्ट्रपति ट्रम्पलाई चौतर्फी घेराबन्दीमा पारेको छ ।









