भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन शाह कुल साढे २५ घण्टा मात्रै भारतमा रहने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार यस संक्षिप्त भ्रमणका क्रममा प्रधानमन्त्री शाह जम्मा चारवटा औपचारिक बैठक तथा कार्यक्रममा मात्रै सहभागी हुनेछन्।
सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते अपराह्न १:२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन् र भोलिपल्ट मंसिर ७ गते अपराह्न ४:२० बजेको नियमित उडानबाट स्वदेश फर्कनेछन्। दिल्लीस्थित ‘ताज महल होटेल’मा बस्ने तय भएका शाहको मंसिर ६ गते कुनै औपचारिक कार्यक्रम राखिएको छैन, यद्यपि सो साँझ उनी नेपाली राजदूतावास जाने सम्भावना रहेको स्रोतले जनाएको छ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहलाई राष्ट्रपति कार्यालयमा ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ, जहाँ उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसपछि नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा भारतीय प्रधानमन्त्री मोदीसँग एक्लाएक्लै (वान–अन–वान) वार्ता र प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ। साथै, भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यसअघि भ्रमण तीन दिनको हुने चर्चा रहे पनि एक वर्षसम्म विदेश भ्रमण नगर्ने आफ्नो सुरुवाती घोषणा र संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर तुरुन्तै फर्किएको शैलीलाई निरन्तरता दिँदै भारत भ्रमणलाई पनि २५ घण्टामा सीमित गरिएको सरकारी स्रोतको भनाइ छ।
२ खर्ब भारु सहयोग र पूर्वाधार विकासका एजेन्डा
प्रतिनिधिमण्डलस्तरीय बैठकका क्रममा दुई देशबीच विभिन्न सम्झौता तथा परियोजनाहरूको उद्घाटन हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार भारत नेपाललाई १ खर्ब अनुदान र १ खर्ब सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) गरी कुल २ खर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन सकारात्मक देखिएको छ। उक्त १ खर्ब अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माणमा र बाँकी ५० अर्ब रुपैयाँ बुटवल–पोखरा एक्सप्रेसवे निर्माणमा खर्च गर्ने नेपालको प्रस्ताव छ।
यसैगरी, दुई देशका प्रधानमन्त्रीले भारतको अयोध्यादेखि जनकपुर आउने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ, जसलाई साताको एकपटक सञ्चालन गर्न भारतले अनुमति दिइसकेको छ। यसका अतिरिक्त रक्सौल–काठमाडौं रेलमार्ग निर्माण र क्रसबोर्डर पेट्रोलियम पाइपलाइन विस्तारबारे पनि सम्झौता हुन सक्ने स्रोतको भनाइ छ।
हवाई रुट र एअरस्पेसमा लेनदेनको प्रस्ताव
नेपालले लामो समयदेखि माग गर्दै आएको हवाई प्रवेशमार्ग (एयर रुट) र भैरहवा विमानस्थलका लागि आवश्यक एअरस्पेस उपलब्ध गराउन भारत सहमत भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाज नेपाल प्रवेश गर्न पाउने गरी रुट दिन र भैरहवा विमानस्थलमा उडान–अवतरण गर्दा भारतीय आकाश प्रयोग गर्न दिन सकारात्मक देखिएको हो। साथै, अयोध्या–जनकपुर सिधा हवाई उडान र भारतका केही सहरबाट पोखरा विमानस्थलमा सिधा उडान गर्ने विषयमा समेत सहमति जुट्ने सम्भावना छ।
तर, भैरहवामा एअरस्पेस दिएबापत भारतले पुनर्निर्माण भइरहेको रक्सौल विमानस्थल र सिलिगुडीनजिकैको बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणका लागि नेपालको पूर्वी तराईको आकाश (एअरस्पेस) प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव अघि सारेको छ। परराष्ट्र स्रोतका अनुसार यी विषयहरू हाल वार्ताकै क्रममा रहेकाले नेपालले सहमति जनाइसकेको छैन।
ऊर्जा, सिँचाइ र भ्रमण टोली
महाकाली सन्धि भएको ३० वर्ष बितिसक्दा पनि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा भारतले बृहद राजनीतिक सहमतिको आवश्यकता औंल्याएकाले यस पटक ठोस प्रगति हुने सम्भावना न्यून रहेको स्रोतले बताएको छ। यद्यपि, निर्माण सम्पन्न भएर पनि पानी नपाउँदा सञ्चालनमा आउन नसकेको महाकाली तेस्रो सिँचाइ आयोजनाका लागि टनकपुर बाँधबाट १० क्युमेक पानी छोडिदिन भारत सहमत भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ। नेपालले माथिल्लो तामाकोशीलगायत चिनियाँ ठेकेदार संलग्न आयोजनाको बिजुली भारतले खरिद गर्नुपर्ने र बंगलादेशमा थप विद्युत निर्यातका लागि सहजीकरण गरिदिनुपर्ने एजेन्डासमेत उठाउने तयारी गरेको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र पर्यटनमन्त्री गनेश पौडेललगायत सहभागी हुनेछन्।









