नेपाली कांग्रेसको संस्थापन पक्षलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा अघि बढाएको १५औं महाधिवेशनको प्रक्रियालाई तीव्रता दिएको छ । वडा, पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशनहरू सञ्चालन गर्दै देउवा पक्षले आगामी मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी अघि बढाएको हो। केन्द्रीय महाधिवेशनको उद्घाटन खुलामञ्चमा र बन्दसत्र भृकुटीमण्डपमा गर्ने तय भएको छ भने मंसिर १८ भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरूलाई काठमाडौं ल्याउने लक्ष्य राखिएको छ।
निर्वाचन समितिका संयोजक एकराज पोखरेलका अनुसार हालसम्म १३४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ। मधेश प्रदेशका ७ जिल्ला, धनुषाका बाँकी ४ क्षेत्र तथा मनाङ, मुस्ताङ र रसुवामा क्षेत्रीय अधिवेशन हुन बाँकी रहे पनि प्रदेश अधिवेशन सम्पन्न हुने बेलासम्म १६५ वटै निर्वाचन क्षेत्रको अधिवेशन सकिने संयोजक पोखरेलले जानकारी दिएका छन्।
महाधिवेशनका लागि प्रतिनिधि चयनको प्रक्रियाअन्तर्गत वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमार्फत केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। यसका साथै प्रतिनिधिसभा क्षेत्रीय सभापति, एक निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति, प्रदेश सभा क्षेत्रीय सभापति र पालिका सभापतिहरू पदेन महाधिवेशन प्रतिनिधि हुनेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट समेत प्रतिनिधि सहभागी गराइने हुँदा कुल महाधिवेशन प्रतिनिधिको संख्या ८ हजारभन्दा बढी पुग्ने संयोजक पोखरेलको भनाइ छ।
अधिवेशनलाई समावेशी बनाउन वडा तहदेखि केन्द्रसम्मै आरक्षणको व्यवस्था गरिएको छ। प्रत्येक निर्वाचन क्षेत्रबाट चयन हुने ३५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये खुलातर्फ ४ महिलासहित १४ जना, समावेशी क्लस्टरबाट १० जना, १८ देखि २८ वर्ष उमेर समूहका युवाबाट १ महिलासहित २ जना र ४० वर्षमुनिका युवाबाट १ महिलासहित २ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यस्तै अपांगता भएका व्यक्तिबाट १ जना, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित र सहिद परिवारबाट २ जना, विषयविज्ञ र श्रमिकबाट २ जना तथा अन्य समूहबाट २ जना प्रतिनिधि चयन हुने व्यवस्था छ।
नेतृत्व चयनका सन्दर्भमा देउवा पक्षका अधिकांश नेताहरू निर्वाचनभन्दा सहमतिको पक्षमा देखिएका छन्। देउवा पक्षको नेतृत्वका लागि शशांक कोइराला, विमलेन्द्र निधि, एनपी साउद र प्रकाशशरण महतले आकांक्षा देखाएका छन्। पूर्वसभापति देउवा स्वयं शशांक कोइरालालाई नेतृत्वमा अघि सार्ने मनस्थितिमा रहेको उनीनिकट नेताहरूको भनाइ छ भने विमलेन्द्र निधिले सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन्। अन्य पदहरूमा आकांक्षीहरूको तीव्र प्रतिस्पर्धा नदेखिएकाले धेरैजसो पदमा सर्वसम्मत रूपमै नेतृत्व चयन हुने सम्भावना रहेको नेताहरूले बताएका छन्।









