संयुक्त राज्य अमेरिकाको गृह सुरक्षा विभागले नेपाली नागरिकहरूका लागि प्रदान गरिएको अस्थायी संरक्षण स्थिति (टीपीएस) औपचारिक रूपमा खारेज गरेको छ ।
बिहीबार एक नोटिस जारी गर्दै नेपालको वर्तमान अवस्थाको विस्तृत समीक्षापछि यो निर्णय गरिएको जनाएको छ । सन् २०१५ मा विनाशकारी भूकम्पका बेला अमेरिकामा रहेका नेपाली नागरिकका लागि टीपिएस प्रदान गरिएको थियो । यस अन्तर्गत ७ हजार ८ सय ७५ जना नेपाली नागरिकले अमेरिकामा बसोबासको अनुमति पाइरहेका छन् ।
नेपालका लागि टीपिएस सन् २०१५ अप्रिल र मे महिनामा गएका विनाशकारी भूकम्पपछि लागू गरिएको थियो, जसले व्यापक विनाश र विस्थापन गराएको थियो । यस मानवीय कार्यक्रमले अमेरिकामा बसोबास गरिरहेका हजारौं नेपाली नागरिकहरूलाई कानूनी रूपमा बस्न र काम गर्न अनुमति दिएको थियो, जसले नेपालको पुनर्निर्माण प्रयासका क्रममा स्थिरता प्रदान गरेको थियो ।
अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सम्बन्धित अन्तर-एजेन्सी साझेदारहरूसँगको परामर्शपछि नेपालले २०१५ को भूकम्पका प्रभावहरूबाट पर्याप्त रूपमा पुनरुत्थान गरिसकेको र टीपिएसको निरन्तरता आवश्यक नरहेको ठहर गरेको बताएका छन् ।
नेपालका लागि टीपिएस अगस्ट ५, २०२५ को राती ११:५९ बजेदेखि समाप्त हुने छ । यस निर्णयको विस्तृत जानकारीसहितको सङ्घीय दर्ता सूचना प्रकाशन भएको ६० दिनपछि हो ।
हालका टीपिएसमा रहेका नेपालीहरूलाई यदि उनीहरूसँग संयुक्त राज्य अमेरिकामा बस्ने अन्य कुनै कानूनी आधार छैन भने नेपाल फर्कन तयारी गर्न सल्लाह दिइएको छ । विभागले प्रभावित व्यक्तिहरूलाई उपलब्ध सबै अध्यागमन विकल्पहरू पत्ता लगाउन वा प्रस्थानको लागि तयारी सुरु गर्न भनेको छ । यस संक्रमणलाई सहज बनाउन टीपिएसमा रहेकाहरुलाई अमेरिकी नागरिकता र अध्यागमन सेवाको वेबसाइट गएर बुझ्न भनिएको छ ।
यो निर्णय अमेरिकी अध्यागमन नीतिहरूको व्यापक पुनर्मूल्याङ्कनका बीच आएको छ । टीपिएसको अन्त्यले अमेरिकामा लामो समयदेखि बस्दै आएका ७ हजार ८ सय ७५ जना नेपाली नागरिकहरूको भविष्यमा ठूलो अनिश्चितता सिर्जना गरेको छ । उनीहरूलाई आफ्नो व्यक्तिगत परिस्थिति बुझ्न र अमेरिकामा कानूनी स्थितिका लागि कुनै वैकल्पिक मार्गहरू भएमा अध्यागमन कानूनी सल्लाहकारसँग तत्काल परामर्श गर्न आग्रह गरिएको छ ।









