१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

लिपुलेक सम्बन्धी भारत–चीनको सम्झौताले सार्वभौमिकतामाथि आघात भएको समाजवादी मोर्चाको निष्कर्ष



भारत र चीनले लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिप्रति नेपालका चार वाम–समाजवादी दलहरूको साझा मोर्चाले कडा आपत्ति जनाएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल समाजवादी पार्टी (नेसपा) सम्मिलित समाजवादी मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको निष्कर्ष निकालेका हुन् ।

मोर्चाले भारतले मिचेको भूमि फिर्ता ल्याउन सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टि गर्दछ । तर, विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यसैबीच भारत र चीनबीच भएको नयाँ समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात भएको छ ।”

समाजवादी मोर्चाले नेपाल सरकारलाई तुरुन्तै कूटनीतिक पहल गरेर सम्बन्धित मुलुकहरूसँग तथ्यसहित कुरा गर्न, समझदारीको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक कदम चाल्न आह्वान गरेको छ ।

विज्ञप्तिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (चन्द) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेसपाका अध्यक्ष महिन्द्रराय यादवले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : ०७ बजे