९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

संसद् बैठकमा मोबाइल चलाउन र फोटो-भिडियो खिच्न प्रतिबन्ध लगाइँदै



काठमाडौँ । प्रतिनिधिसभाको बैठक चलिरहेका बेला अब सांसदहरूले सभा हलभित्र मोबाइल फोन प्रयोग गर्न, फोटो खिच्न वा भिडियो बनाउन नपाउने भएका छन्। संसद्को गरिमा र बैठकको गम्भीरतालाई कायम राख्न भन्दै नयाँ नियमावलीमार्फत यस्तो कडाइ गर्न लागिएको हो।

सभामुख डीपी अर्यालसमक्ष मंगलबार पेस गरिएको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा’ मा सांसदहरूका लागि मोबाइल प्रयोगसम्बन्धी कडा प्रावधान प्रस्ताव गरिएको छ। रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा गठित समितिले तयार पारेको उक्त मस्यौदामा बैठकका क्रममा पालना गर्नुपर्ने ११ बुँदे आचारसंहिता समेटिएको छ। जसअनुसार हलभित्र मोबाइल फोन अनिवार्य रूपमा ‘साइलेन्ट मोड’ मा राख्नुपर्ने व्यवस्था गरिएको छ।

पछिल्लो समय सदनमा युवा सांसदहरूको बाहुल्यतासँगै बैठक जारी रहेकै अवस्थामा सेल्फी खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा व्यस्त हुने प्रवृत्ति बढेपछि नियमावलीमै यस्तो रोक लगाउने तयारी गरिएको हो। समितिले मोबाइल साथमा बोक्न प्रतिबन्ध नलगाए पनि बैठकको मर्यादा कायम राख्न खुसुक्क फोन झिकेर दृश्यांकन गर्ने वा कुराकानी गर्ने गतिविधिमा पूर्ण रोक लगाउन प्रस्ताव गरेको छ।

मस्यौदाको नियम ११ को उपनियम ‘ट’ मा उल्लेखित यो प्रावधान पारित भएमा सांसदहरूले बैठक कक्षभित्र प्रविधिको जथाभाबी प्रयोग गर्न पाउने छैनन्। यसले संसदीय बहसलाई थप गम्भीर र मर्यादित बनाउने विश्वास समितिले लिएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ११ : १० बजे