१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट, बीमा कम्पनी अध्यक्ष पक्राउ



सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको संवैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मंगलबार अधिवक्ता डा. प्रेमराज सिलवालले आयोग खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन्। उक्त रिटमाथि बुधबारका लागि पेसी तोकिएको छ।

सरकारले वैशाख ३ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने कार्यादेश दिइएको छ। तर, रिटमार्फत उक्त आयोग गैरसंवैधानिक भएको दाबी गरिएको छ।

यसैबीच, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाबाट मंगलबार पक्राउ गरेको हो।

बिमा सम्बन्धी कसुरमा उनीविरुद्ध अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्। नेपाल बिमा प्राधिकरणले तयार पारेको छानबिन प्रतिवेदनका आधारमा श्रेष्ठको संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ।

उता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले सोमबार उनलाई उक्त जिम्मेवारी दिएको हो। यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत ढकाललाई महानिर्देशकमा बढुवा गरिएको हो।

यसअघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएपछि विभागमा उक्त पद रिक्त रहेको थियो।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ११ : ४३ बजे