१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

संघीय मन्त्रालय २२ बाट १८ मा झर्‍यो, विज्ञान–प्रविधि र नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय



सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयको पुनर्संरचना गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रशासनिक सुधार, खर्च कटौती र राज्य संयन्त्रलाई थप चुस्त बनाउन मन्त्रालयहरूको कार्यक्षेत्र पुनरावलोकन गरी केही मन्त्रालय गाभिएका छन् भने केहीको नाम परिवर्तन गरिएको छ ।

सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ । त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहनेछन् ।

प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधिसम्बन्धी कार्य अलग गरी ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरिएको छ। यस मन्त्रालयले नवप्रवर्तनसम्बन्धी नयाँ कार्यक्षेत्र पनि सम्हाल्नेछ ।

अन्य मन्त्रालयहरूलाई समान प्रकृतिका आधारमा एकीकृत गरिएको छ । अब शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय, भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि, वन तथा पर्यावरण मन्त्रालय रहनेछन् ।

साविकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको सूचना प्रविधिसम्बन्धी कार्य भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ ।

नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो । सोही योजनाअनुसार सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित पुनर्संरचना व्यवस्थापन सचिवालयले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयहरूको एकीकरण र पुनःनामकरण गरिएको हो ।

सरकारले मन्त्रालयको संख्या अत्यधिक हुँदा चालु खर्च बढेको तथा प्रशासनिक संरचना जटिल बनेको निष्कर्षसहित यो निर्णय गरेको जनाएको छ ।

अब रहने १८ संघीय मन्त्रालय

  1. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  2. अर्थ मन्त्रालय
  3. गृह मन्त्रालय
  4. परराष्ट्र मन्त्रालय
  5. रक्षा मन्त्रालय
  6. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
  7. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  8. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  9. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
  10. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
  11. शिक्षा तथा खेलकुद मन्त्रालय
  12. सञ्चार मन्त्रालय
  13. युवा, श्रम तथा रोजगार मन्त्रालय
  14. भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय
  15. महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
  16. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
  17. पूर्वाधार विकास मन्त्रालय
  18. कृषि, वन तथा पर्यावरण मन्त्रालय

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ८ : २० बजे