३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

हिमाल आरोहणका लागि १,१३४ ले लिए अनुमति



नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सन् २०२६ को वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति सम्बन्धी पछिल्लो प्रतिवेदन सार्वजनिक गरेको छ । ्

मे ८, २०२६ सम्मको तथ्याङ्क अनुसार यस सिजनमा ३० वटा विभिन्न हिमाल आरोहणका लागि जम्मा १,१३४ जना आरोहीहरूले अनुमति लिएका छन् ।
सगरमाथामा उच्च चापविश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) आरोहणका लागि यस वर्ष ५० वटा टिमबाट जम्मा ४९२ जनाले अनुमति पाएका छन् । जसमा ३८७ पुरुष र १०५ महिला रहेका छन् । सगरमाथा आरोहणबाट मात्र सरकारले ७१ लाख ९७ हजार अमेरिकी डलर (करिब १ अर्ब ७ करोड ४० लाख रुपैयाँ) भन्दा बढी रोयल्टी संकलन गरेको छ ।

सगरमाथा बाहेक अन्य हिमालहरूमा पनि आरोहीहरूको उल्लेख्य सहभागिता देखिएको छ । जस अनुसार ल्होत्से (८५१६ मि.)– १२०, आमा दब्लाम (६८१४ मि.) मा १११, मकालु १ (८४६३ मि.) मा ७२, अन्नपूर्ण १ (८०९१ मि.) मा २७ जनाले अनुमति लिएका छन् ।

समग्रमा, यस सिजनको मे ८ सम्ममा हिमाल आरोहण अनुमतिबाट सरकारले कुल ८३ लाख ३५ हजार ९७१ अमेरिकी डलर (करिब १ अर्ब २४ करोड ४१ लाख रुपैयाँ) रोयल्टी प्राप्त गरेको छ ।

देशगत रुपमा हेर्दा चीन र अमेरिकाका सबैभन्दा धेरै आरोहीले अनुमति लिएका छन् । त्यसैगरी आरोहण अनुमति लिनेहरूमा ७९ देशका नागरिकहरू सहभागी छन् । जसमा सबैभन्दा बढी चीनबाट १४९ जना, संयुक्त राज्य अमेरिकाबाट १४८ जना, र भारतबाट ९५ जना रहेका छन् । अन्य प्रमुख देशहरूमा रुस (६९ जना), बेलायत (७४ जना) र जर्मनी (७१ जना) रहेका छन् । नेपालबाट पनि १९ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

यस सिजनमा महिला आरोहीहरूको सहभागिता पनि उत्साहजनक देखिएको छ । कुल १,१३४ आरोहीमध्ये २७४ जना महिला रहेका छन् भने ८६० जना पुरुष रहेका छन् । पर्यटन विभागकी शाखा अधिकृत सुधा रेग्मीका अनुसार, यो तथ्याङ्क मार्च १ देखि मे ८, २०२६ सम्मको हो । यसले नेपाली पर्वतारोहण क्षेत्रमा कोभिडपछिको उत्साहलाई निरन्तरता दिएको देखिन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १० : ४६ बजे