३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

प्रधानमन्त्रीको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवक काठमाडौंबाट पक्राउ



प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिएर दैलेखका एक वडा सचिवलाई फोनमार्फत धम्क्याउने युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दैलेखको दुल्लु नगरपालिका–१३ निवासी प्रकाश खड्कालाई शनिबार काठमाडौंबाट पक्राउ गरिएको हो ।

खड्काले सोही वडाका सचिव कमल भण्डारीलाई फोन गरी आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै विभिन्न सिफारिस गर्न दबाब दिएका थिए। उनले धाकधम्की दिएको अडियो सार्वजनिक भएपछि घटना सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका खड्का दुल्लु नगरपालिका–१३ कै स्थायी बासिन्दा भए पनि हाल काठमाडौंमा बस्दै आएका थिए ।

खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध रहेको बताइएको छ। रास्वपा दैलेखका जिल्ला सचिव प्रकाशकुमार बुढाले उनलाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिसकेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ९ : ०८ बजे